प्रशान्त निराैला , १४ पटक हेरिएको
मिक्लाजुङ, ३ जेठ । मोरङको मिक्लाजुङ ३ स्थित नेसेलुङ पार्कमा “एक घुमन्ते सभ्यता लोपोन्मुख राउटे जाति विशेष मेला” आयोजना गरिएको छ । याक्थुङ भिलेज प्रा.लि. (उल्टोघर) को आयोजनामा सुरु गरिएको मेलाले नेपालको लोपोन्मुख तथा घुमन्ते आदिवासी राउटे समुदायको संस्कृति, परम्परा र जीवनशैलीलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्य लिएको जनाएको छ ।
मेलासँगै आयोजकले सार्वजनिक गरेको आचारसंहितामा राउटे समुदायलाई “मनोरञ्जनको वस्तु” वा “प्रदर्शनी” का रूपमा व्यवहार नगर्न आग्रह गरिएको छ । आगन्तुक, सञ्चारकर्मी तथा स्वयंसेवकलाई उनीहरूको आत्मसम्मान, व्यक्तिगत स्वतन्त्रता र सांस्कृतिक संवेदनशीलतालाई ध्यानमा राख्न अनुरोध गरिएको छ । फोटो तथा भिडियो खिच्नुअघि अनुमति लिनुपर्ने, बालबालिकाको तस्बिर सावधानीपूर्वक मात्र प्रयोग गर्नुपर्ने तथा बसोबास क्षेत्रमा जबर्जस्ती प्रवेश गर्न नपाइने उल्लेख गरिएको छ ।
मेलालाई लिएर सामाजिक सञ्जालमा भने मिश्रित प्रतिक्रिया देखिएको छ । केहीले राउटे समुदायको संस्कृति जोगाउन यस्ता कार्यक्रम आवश्यक भएको बताएका छन् भने कतिपयले मानिसलाई चिडियाखानामा जनावर झैँ प्रदर्शन गरिनु मानवीय दृष्टिले असहज र अनुचित हुने टिप्पणी गरेका छन् । आयोजकले भने राउटे समुदाय “हाम्रो सांस्कृतिक सम्पदा” भएकाले उनीहरूलाई कौतुहलको विषय नभई सम्मानको दृष्टिले हेर्न सबैसँग आग्रह गरेको छ ।
प्रकाशित मिति: २०२६-०५-१७ , समय : २२:११:५० , २ घन्टा अगाडि