कांग्रेस अनुशासन समितिको बैठक बस्दै

इनेपालपत्र , ८  पटक हेरिएको

काठमाडौँ,  १८ चैत। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। पार्टीभित्र पछिल्लो समय चर्किएको आन्तरिक विवाद र अनुशासन उल्लंघनका उजुरीहरूका विषयमा छलफल गर्न यो बैठक बोलाइएको हो।

 

बैठकको मुख्य एजेन्डा संस्थापन इतर पक्षले गरिरहेका गतिविधिहरू र पार्टीको आधिकारिक लाइनविपरीतका कार्यक्रमहरूबारे समीक्षा गर्ने रहेको छ। इतर पक्षले छुट्टै भेला र दबाबमूलक कार्यक्रमहरू गरिरहेकाले त्यसलाई अनुशासनको दायरामा ल्याउने विषयमा समितिमा छलफल हुने बताइएको छ।

यसैगरी, उपसभापति पूर्णबहादुर खड्काले आफूलाई ुकार्यवाहक सभापतिु का रूपमा प्रस्तुत गरेको विषयमा पनि गम्भीर छलफल हुने सम्भावना छ। सभापतिको अनुपस्थितिमा विधि र विधानविपरीत कार्यवाहक दाबी गरेको भन्दै उनलाई कारबाही गर्ने विषयमा अनुशासन समितिमा उजुरी परेको र सोही आधारमा स्पष्टीकरण सोध्ने वा अन्य प्रक्रिया अघि बढाउनेबारे आजको बैठकले निर्णय लिन सक्ने बताइएको छ।

पार्टीभित्र गुटगत राजनीति र नेतृत्वको मर्यादालाई लिएर विवाद बढ्दै गएका बेला बस्न लागेको यो बैठकलाई कांग्रेसभित्र निकै चासोका साथ हेरिएको छ। अनुशासन समितिले लिने निर्णयले पार्टीको आगामी आन्तरिक शक्ति सन्तुलनमा समेत प्रभाव पार्ने देखिन्छ।

प्रकाशित मिति: २०२६-०४-०१ , समय : ०९:१९:२४ , २ घन्टा अगाडि