बालेन्द्र शाहको चुनावी अभियानमा सहभागी चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन

निरोज ढकाल , २  पटक हेरिएको

चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ। ग्राण्डी अस्पतालले सोमबार जारी गरेको विज्ञप्तिअनुसार सिटौलाको आज दिउँसो १२:४५ बजे निधन भएको हो।

 

सिटौला अछाममा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाहको चुनावी प्रचारमा सहभागी भइरहेका बेला अचानक बेहोस भएका थिए। अवस्था गम्भीर भएपछि उनलाई सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौं ल्याई ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो।

 

अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार गम्भीर सघन उपचारका बाबजुद ४८ घण्टापछि पनि उनको न्यूरोलोजिकल अवस्थामा कुनै सुधार देखिएन। मस्तिष्कको कार्यक्षमता पुनः प्राप्तिको कुनै संकेत नदेखिएपछि परिवारलाई अवस्थाबारे विस्तृत परामर्श दिइएको अस्पतालले जनाएको छ।

 

चिकित्सकीय प्रोटोकलअनुसार मस्तिष्कको कार्यक्षमता मूल्याङ्कन गर्न एप्निया परीक्षण गरिएको थियो, जसको नतिजा सकारात्मक आएको र स्वतः श्वासप्रश्वास नभएको पुष्टि भएको अस्पतालले जनाएको छ। सोही आधारमा आज दिउँसो १२:४५ बजे उनको निधन भएको औपचारिक जानकारी अस्पतालले दिएको हो।

 

अस्पतालका अनुसार सिटौलालाई सब–अरैक्नोइड हेमरेज भएको थियो। उनको निधनसँगै चलचित्र पत्रकारिता तथा सञ्चार क्षेत्र शोकमा डुबेको छ। विभिन्न सञ्चारकर्मी, संस्थाहरू र शुभेच्छुकहरूले सिटौलाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

प्रकाशित मिति: २०२६-०२-०१ , समय : १५:४६:५८ , २ घन्टा अगाडि