निरोज ढकाल , ४ पटक हेरिएको
१५ वर्षे आश्वासन, उस्तै सडकः चुनावी नारा सीमित, कीर्तिमान भाउन्नेमा जनताको पीडा जारी
लेटाङ, २९ मंसिर।निर्वाचन घोषणा हुनेबित्तिकै नेताहरूले ‘सडक बनाइदिन्छौँ’ भन्दै आश्वासन बाँड्ने गरेको भए पनि लेटाङ–३ को कीर्तिमान–भाउन्ने सडक खण्ड १५ वर्षदेखि उस्तै अवस्थामा रहेको भन्दै स्थानीय चिन्तित बनेका छन्। हरेक चुनावमा प्राथमिकतामा पर्ने यो सडक आजसम्म कालोपत्रे नहुँदा जनताको भरोसा आश्वासनमै सीमित भएको गुनासो छ।
दैनिक टिफर, ट्रकजस्ता भारी सवारी साधनको आवतजावतले सडक धुलाम्मे बन्दै गएको छ। उड्ने धुलोका कारण यात्रुहरू मात्र होइन, सडकछेउका बासिन्दाको स्वास्थ्य र दैनिकी प्रत्यक्ष प्रभावित भइरहेको छ। स्थानीयका अनुसार चुनाव सकिएपछि सडकको विषय पनि ओझेलमा पर्ने गरेको छ।
“नेताहरू आउँछन्, सडक बनाउने वाचा गर्छन्, तर चुनाव सकिएपछि कसैले फर्केर हेर्दैन,” स्थानीयको गुनासो छ। लामो समयदेखिको बेवास्ताले समस्या झन् जटिल बन्दै गएको भन्दै स्थानीयले अब आश्वासन होइन, ठोस काम चाहिएको बताएका छन्। उनीहरूले तत्काल धुलो नियन्त्रण र दीर्घकालीन रूपमा सडक कालोपत्रे गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
प्रकाशित मिति: २०२५-१२-१५ , समय : २१:४९:२३ , ३ घन्टा अगाडि