निशा दाहाल , २० पटक हेरिएको

पथरी शनिश्चरे, ११ असार । असार ११ गते — “स्वस्थ नगर, समुन्नत नगर” को नारालाई आत्मसात गर्दै सञ्चालित पथरी नगर अस्पतालले आफ्नो छैठौं स्थापना दिवस विविध कार्यक्रमसहित उल्लासपूर्ण ढंगले सम्पन्न गरेको छ। सो अवसरमा आयोजना गरिएको निःशुल्क दन्त स्वास्थ्य शिविरले समुदायलाई प्रत्यक्ष लाभ पुर्याएको छ।
पथरी शनिश्चरे–२, छ्यालिस बिघेमा अवस्थित नगर अस्पताल परिसरमा आयोजित कार्यक्रममा असहाय मानव सेवा समाज, दमकले प्राविधिक सहयोग पुर्याएको थियो। दन्त स्वास्थ्य शिविरमा सयौं सर्वसाधारणले निःशुल्क परीक्षण, परामर्श तथा उपचार सेवा प्राप्त गरे।
कार्यक्रमको अध्यक्षता नगर प्रमुख मोहन प्रसाद तुम्वापोले गर्नुभएको थियो। वडाध्यक्ष तथा अस्पताल व्यवस्थापन समितिका सदस्य नैना राईले स्वागत मन्तव्य राख्दै अस्पतालको विकासमा समुदायको साथ अपरिहार्य रहेको उल्लेख गर्नुभयो।
सो अवसरमा विभिन्न विशिष्ट अतिथिहरू —वि.व्य.स. अध्यक्ष युवराज बास्कोटा, नेपाली कांग्रेस नगर उपाध्यक्ष के.बी. गुरुङ
पूर्व नगर प्रमुख दिलिपकुमार राई (किशोर),संविधानसभा सदस्य चण्डीप्रसाद राईले अस्पतालले पुर्याउँदै आएको स्वास्थ्य सेवाको प्रशंसा गर्दै शुभकामना मन्तव्य राखे।
स्थापना दिवसकै अवसरमा उत्कृष्ट सेवाका लागि डा. ओम शान्ति रजक र कर्मचारी एल्डिना गुरुङलाई विशेष सम्मान गरियो। उनीहरूको निष्ठा र कर्मठताले अस्पतालको सेवा प्रवाहमा उदाहरणीय योगदान पुर्याएको भन्दै सम्मानपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले अस्पतालको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै निम्न विवरण सार्वजनिक गर्नुभयो:
सेवा विवरण (विगत एक वर्ष):
उपचार लाभ लिने बिरामी संख्या: १,०२,१८७ जना
कुल आम्दानी: ११ करोड ७९ हजार २ सय ४९ रुपैयाँ
कुल खर्च: १० करोड ४ लाख ४१ हजार ५ सय ६५ रुपैयाँ
बचत: १ करोड ७४ लाख ८३ हजार ३ सय ३६ रुपैयाँ
नगर प्रमुख तुम्वापोले स्वास्थ्य क्षेत्रलाई अझ प्रभावकारी बनाउँदै आगामी दिनहरूमा आधुनिक प्रविधि र सेवा विस्तारमा प्राथमिकता दिने प्रतिवद्धता जनाउनुभयो।
समारोह सहभागीहरूले अस्पतालको सेवारूपी समर्पणको प्रशंसा गर्दै यसलाई ‘स्थानीय तहमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहको उदाहरणीय मोडल’का रूपमा चित्रण गरे।
प्रकाशित मिति: २०२५-०६-२५ , समय : १८:२२:५७ , ५ घन्टा अगाडि