बाटाे बिराउँदै सहकारी !

Enepal Patra Pvt. Ltd. , ५९६  पटक हेरिएको

काठमाडौं , २८ पुस ।ग्रामीण भेगहरुमा आर्थिक गतिविधि बढाउनका लागि सरकारले गाउँगाउँमा सहकारी घरघरमा भकारी भन्ने नाराका साथ सहकारी विस्तारको योजना बनाएको थियो । सहकारी स्थापना र विस्तारलाई थप प्रोत्साहन गर्नका लागि सहकारी क्षेत्रलाई अर्थतन्त्रको तीन खम्बा अन्तर्गत एक मानिँदै आइएको छ ।

अहिले नेपालमा ३४ हजारको हाराहारीमा सहकारी संस्थाहरु दर्ता भएको अवस्था छ । यसमध्ये, कति राम्रै अवस्थामा संचालन भइरहेका छन् भने कतिपय सहकारीहरु डुब्ने अवस्थामा छन् । बैंक तथा वित्तीय संस्थाको पहुँच नपुग्ने वर्ग एवम् समुदायमा बचत गर्ने एवम् उद्यमशीलतातर्फ लाग्ने बानीको विकास गर्नका लागि सुरु गरिएको सहकारी अहिले बढी मात्रामा बदनाम भइरहेका छन् ।

सहकारी भनेको यस्तो संस्था हो, जसको संचालक सदस्य आफैँ हुन्छन् । सहकारीमा नियमित रुपमा पैसा जम्मा गरिन्छ । पैसा जम्मा गर्ने सबै बचतकर्ताहरु उक्त संस्थाको शेयर सदस्यसमेत हुन्छन् । उनीहरुले आवश्यकताअनुसार निश्चित व्याजदरमा सहकारीबाट कर्जा लिन पाउँछन् । यसरी कर्जा लिएर साँच्चै सदुपयोग गर्ने हो भने सहकारीबाट समृद्धि सम्भव छ । यद्यपि, केही खराब नियत भएका ऋणीहरुका कारण सिंगो सहकारी क्षेत्र नै बदनाम भएको अवस्था छ ।

सहकारी क्षेत्रमा ठगी भएका एवम् सहकारी संचालक नै बचतकर्ताको पैसा लिएर भागेको घटनाहरु धेरै सुनिएका छन् । यस्ता प्रायः घटनाहरु ऋणीहरुका कारण घट्ने गरेका छन् । ऋणीले लिएको कर्जा अन्य सदस्यहरुले गरेको बचत हो । उसले बुझाएको व्याजबाट बचतकर्ताहरुलाई व्याज दिनुपर्ने हुन्छ । कर्जा लिनेहरुले व्याज तिर्ने मनशाय नै नदेखाएपछि संचालकहरु भाग्न बाध्य हुन्छन् ।

त्यसमाथि सहकारी क्षेत्रको नियमन नै कमजोर रहेको छ । जसकारण ऋणीदेखि लिएर संचालकसम्म सजिलै उम्कन पाइरहेका छन् । समय समयमा अनुगमन, दोषीलाई कारबाही जस्ता कदम चाल्ने प्रभावकारी संयन्त्र भएको भए ऋणी अनुशासनमा बस्थे र सहकारीको वास्तविक उद्देश्य पूरा हुन सक्थ्यो ।

सहकारी क्षेत्रको व्याजदरका विषयमा पनि समयसमयमा टिप्पणी हुने गरेको छ । सहकारीले मनपरी ढंगले व्याज उठाउने गरेको गुनासो आउने गरेको छ । सहकारी सदस्यहरुले नै संचालन गर्ने भएकाले व्याजदर पनि उनीहरुकै निर्णयअनुसार हुन्छ । कर्जा तिर्न नसक्ने भएपछि कतिपय ऋणीहरुले नै सहकारीलाई बदनाम गर्न समेत यस्तो हल्ला फैलाउने गर्छन् । यद्यपि, व्याजदरमा एकरुपता हुनुपर्ने कुराहरु पनि आएका छन् ।

देशमा सहकारीको संख्या धेरै छ, जसको प्रभावकारी नियमन हुन सकेको छैन । केही सहकारीले राम्रा कामहरु पनि गरिरहेका छन् । तर, केही नराम्रा सहकारीहरुको भीडमा राम्रा सहकारीहरु पनि हराउने अवस्था आएको छ । यो, समग्र देशका लागि नै विडम्बनाको विषय हो । त्यसैले, सहकारी क्षेत्रका वास्तविक समस्या, विकृतिहरुको पहिचान गरी समाधान गर्ने र आगामी दिनमा त्यस्तो नहोस् भन्नाका लागि प्रभावकारी नियमन गर्नु अत्यावश्यक भएको छ

प्रकाशित मिति: २०२०-०१-१३ , समय : २१:१५:५४ , ४ वर्ष अगाडि