राजनीतिक दलको आर्थिक अवस्था सार्वजनिक: कांग्रेस घाटामा,एमाले सबैभन्दा धनी

ईनेपालपत्र , १६०  पटक हेरिएको

काठमाडौँ, १५खफागुन । निर्वाचन आयोगमा बुझाइएको आर्थिक वर्ष २०८०/८१ को आयव्यय विवरण अनुसार नेकपा (एमाले) सबैभन्दा धनी राजनीतिक दल बनेको छ भने नेपाली कांग्रेस निरन्तर दुई वर्षदेखि घाटामा रहेको छ । नेकपा (माओवादी केन्द्र) को आम्दानी घटेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले आम्दानीभन्दा दोब्बर खर्च गरेको छ ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ बमोजिम आव समाप्त भएको एक महिनाभित्र ८८ दलले आयव्ययको विवरण बुझाएका छन् । यसअनुसार एमालेले गत आवमा १४ करोड ७९ लाख ५ हजार ८०९ रुपियाँ आम्दानी गरेको छ । एमालेले यस वर्ष करिब सात करोड २८ लाख रुपियाँ बचतमा गरेको छ भने यसको आम्दानीको मुख्य स्रोत कार्यकर्ताबाट सङ्कलित सदस्यता शुल्क रहेको छ ।

नेपाली कांग्रेसले यस आवमा दुई करोड ५९ लाख आठ हजार ७७५ रुपियाँ आम्दानी गरेको छ । तर उसले चार करोड ९१ लाख ५६ हजार ३७५ रुपियाँ खर्च गरेको छ । कांग्रेसको आम्दानीको प्रमुख स्रोत चन्दा र सहयोग रहेको छ ।

नेकपा (माओवादी केन्द्र) ले यस आवमा एक करोड ८६ लाख ५३ हजार १४६ रुपियाँ आम्दानी गरेको छ । यसले गत आवमा तीन करोड ४८ लाख ४१ हजार ९३ रुपियाँ आम्दानी गरेको थियो । यस वर्ष माओवादी केन्द्र दुई हजार ४४३ रुपियाँले बचतमा छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले यस आवमा तीन करोड ७९ लाख ५९ हजार ४८७ रुपियाँ आम्दानी गरेको छ । तर उसले छ करोड ५० लाख १७ हजार ७८ रुपियाँ खर्च गरेको छ । यसले एक करोड ६९ लाख ३० हजार ३७६ रुपियाँले घाटामा गएको छ ।

कानुनले तोकेको समयसीमाभित्र ८८ दलले मात्रै आयव्ययको विवरण बुझाएका छन् । आयोगमा आव २०८०/८१ मा ११५ दल दर्ता रहेकामा २७ दलले विवरण बुझाएनन् ।

प्रकाशित मिति: २०२५-०२-२७ , समय : ०९:३८:५४ , ५ महिना अगाडि