ईनेपालपत्र , ११५ पटक हेरिएको

लेटाङ, ५ कार्तिक । मोरङको लेटाङ नगरपालिका-४ मा अवस्थित “लेटाङ बचत तथा ऋण सहकारी संस्था लिमिटेड” ले दुई सहकारीको एकीकरणपछि नयाँ कार्यसमिति गठन गरेको छ। २०८१ कार्तिक ४ गते सम्पन्न विशेष साधारण सभाले पूर्व लेटाङ साकोस र आदर्श साकोसलाई एकीकृत गर्दै नयाँ कार्यसमिति चयन गरेको हो।
नयाँ कार्यसमितिको अध्यक्षमा कमला देवी ढकाल (कोइराला) चयन हुनु भएको छ भने उपाध्यक्षमा नेत्रप्रसाद निरौला र महिला उपाध्यक्षमा फूलमाया तामाङ चयन भएका छन्। सचिवमा भाईकाजि न्याैपाने र कोषाध्यक्षमा तुलशीराम खनाल चयन भएका छन्। अन्य सदस्यहरूमा राजन निरौला, ख्यमानाथ भट्टराई, भीमप्रसाद आचार्य, कृष्णप्रसाद निरौला, रुद्रमणी राई, निशा निरौला, गंगा राई र खुस मायाँ घिमिरे रहेका छन्।
लेखा सुपरीवेक्षण समितिमा अध्यक्ष सिता कुमारी निरौला र सदस्यहरू धिरेन श्रेष्ठ तथा अनिता भुजेल चयन भएका छन्।
सहकारी एकीकरणको मूल उद्देश्य समुदायमा प्रभावकारी सेवा विस्तार गर्दै बचत तथा ऋण सेवा पुर्याउनु हो। स्थानीय समुदायमा रहेका विभिन्न सहकारीहरूलाई एकीकृत गर्नु, प्रतिस्पर्धात्मक बजारमा सशक्त रूपमा उभिनु, संस्थागत क्षमता बढाउनु, तथा आर्थिक स्रोत र साधनहरूको मितव्ययी उपयोग गर्दै सदस्यहरूलाई गुणस्तरीय सेवा प्रदान गर्नु एकीकरणको प्रमुख औचित्य हो।
दुई सहकारीको एकीकरणले प्रशासनिक लागत घटाउने, समन्वय र सहकार्य बढाउने तथा संस्थालाई वित्तीय रूपमा मजबुत बनाउने अवसर सिर्जना गरेको छ। यसले आर्थिक परिचालनमा थप पारदर्शिता कायम गर्ने र सदस्यहरूलाई दिगो वित्तीय सुरक्षा प्रदान गर्ने लक्ष्य राखेको छ।
लेटाङ क्षेत्रमा सहकारीहरूको भूमिका स्थानीय अर्थतन्त्रको सुदृढीकरण र आर्थिक सशक्तीकरणमा महत्वपूर्ण छ। यस एकीकरणले समुदायका सदस्यहरूको आवश्यकतालाई अझ प्रभावकारी रूपमा सम्बोधन गर्ने र संस्थाको भविष्यलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ।
नयाँ कार्यसमितिले सहकारीको पारदर्शी र दिगो व्यवस्थापनका लागि आवश्यक सुधार र नीतिहरू लागू गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ। समुदायको आर्थिक समृद्धिका लागि विभिन्न कार्यक्रम तथा सेवा विस्तारका योजनाहरू अघि बढाइने जानकारी दिएको छ।
प्रकाशित मिति: २०२४-१०-२१ , समय : १७:५०:२३ , ६ महिना अगाडि