कमलपुर सामुदायिक वनको २५ औँ वार्षिक साधारण सभा सम्पन्न, वन विकास र सामुदायिक उन्नयनमा जोड

ईनेपालपत्र , १५४  पटक हेरिएको

लेटाङ, २४ असोज । लेटाङ नगरपालिका-३, मोरङको कमलपुरमा कमलपुर सामुदायिक वन उपभोक्ता समूहको २५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। कमलपुर सामुदायिक वनको प्राङ्गणमा आयोजित साधारण सभामा प्रमुख अतिथिको रूपमा लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्र कुमार लावतीले सहभागिता जनाउनुभएको थियो।
उहाँले समुदायले वनको संरक्षण र विकासमा पुर्याएको योगदानको प्रशंसा गर्दै यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो।
कार्यक्रममा डिभिजन वन कार्यालय, मोरङका प्रमुख उत्सव थापाले वन संरक्षण र सामुदायिक सहभागिताले बनाएको सकारात्मक परिवर्तनको चर्चा गर्नुभयो। उहाँले भविष्यमा पनि यस किसिमको सामुदायिक सहभागिताले वन र समुदायलाई दिगो विकासको दिशामा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो।
वडा नं. ३ का वडा अध्यक्ष डम्बर बहादुर राईले वन समूहले स्थानीय स्तरमा खेलकुद, पर्यटन प्रवर्द्धन, र गरिबी न्यूनीकरणमा पुर्याएको योगदानको प्रशंसा गर्दै, वन समूहसँग सहकार्य गरेर विकासका थप कार्यक्रम अघि बढाउने प्रतिबद्धता जनाउनुभयो।
सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय उपमहासचिव सीता श्रेष्ठले वनको संरक्षण र उपयोगको सन्तुलन मिलाउनुपर्नेमा जोड दिनुभयो। उहाँले समुदायलाई वनको महत्त्व बुझ्न र यसको दीर्घकालीन फाइदाका लागि सचेत रहन आग्रह गर्नुभयो।
कोशी प्रदेशका सदस्य अग्नि पौडेलले कमलपुर सामुदायिक वन उपभोक्ता समूहले गरेको प्रयासको प्रशंसा गर्दै यसको सफलताले प्रदेशभरका अन्य सामुदायिक वनहरूलाई प्रेरणा दिने बताउनुभयो।
कार्यक्रमको अध्यक्षता कमलपुर सामुदायिक वनका अध्यक्ष गोपाल श्रेष्ठले गर्नुभयो। उहाँले वन समूहले बन विकास, गरिबी न्यूनीकरण, सामुदायिक विकास, खेलकुद, संघ संस्था, प्रत्यक्ष रोजगार सिर्जना, र पर्यटन प्रवर्द्धनमा पुर्याएको योगदानबारे जानकारी गराउनुभयो।
सभामा आर्थिक वर्ष २०८०/०८१ को कार्य प्रगति प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, र बाह्य लेखा परीक्षकको प्रतिवेदनमाथि छलफल गरियो र ती प्रतिवेदनलाई अनुमोदन गरियो। आगामी आर्थिक वर्ष २०८१/०८२ को प्रस्तावित बजेटमाथि छलफल गरी अनुमोदन गरिनुका साथै बाह्य लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसमेत गरियो।
कार्यक्रमको सञ्चालन सचिव नरमाया तामाङले गर्नुभएको थियो। सभा बिहान १० बजे सुरु भई अपराह्न ३:४५ बजे सम्पन्न भएको थियो।

प्रकाशित मिति: २०२४-१०-१० , समय : १८:५२:३२ , ९ महिना अगाडि