🖊️प्रशान्त निरौला , १४७ पटक हेरिएको

लेटाङ,६ असोज (२०८१)। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शाखा कार्यालय लेटाङले सातौं वार्षिक उत्सवको अवसरमा जेष्ठ नागरिक सम्मान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
जेष्ठ नागरिक समन्वय केन्द्र लेटाङको सभाहलमा आयोजित कार्यक्रमले समाजका जेष्ठ नागरिकहरूलाई सम्मानित गर्दै बीमा क्षेत्रमा जिम्मेवारी र उत्तरदायित्वप्रति प्रतिबद्धता देखाएको छ। कार्यक्रममा लेटाङ नगरपालिका वडा नं. ३ का अध्यक्ष डम्बर ब. राईको प्रमुख आतिथ्यतामा जेष्ठ नागरिकहरूलाई खादा ओडाएर सम्मान गरिएको थियो। यस अवसरमा वडा सदस्य मुना सार्की, जेष्ठ नागरिक समन्वय केन्द्र लेटाङका अध्यक्ष सुर्य ब. निरौला, र सचिव चन्द्र बहादुर मगरले समेत शुभकामना मन्तव्य राखेका थिए।
सम्मान कार्यक्रममा प्रमुख अतिथी लेटाङ वडा नं. ३ का अध्यक्ष डम्बर बहादुर राईले बीमाको महत्त्वबारे प्रकाश पार्दै भन्नुभयो, “बीमा सुरक्षा र बचत दुवैको माध्यम हो। यसले संकटका समयमा आर्थिक सुरक्षा प्रदान गर्न मात्र होइन, दीर्घकालीन रूपमा बचतको पनि आधार तयार गर्छ। यसकारण प्रत्येक नागरिकले बीमा गर्न आवश्यक छ, किनकि यसले भविष्यका अनिश्चितताहरूलाई सामना गर्न बलियो आधार बनाउँछ।” उहाँले बीमाको पहुँचलाई थप व्यापक बनाउन सबैले सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता पनि औंल्याउनुभयो।
कार्यक्रमको अध्यक्षता सन नेपाल लाइफ इन्स्योरेन्सका लेटाङ उपशाखा प्रमुख आकाश लिम्बुले गर्नुभएको थियो भने सञ्चालन मार्केटिङ म्यानेजर बेदराज दाहालले गर्नुभएको थियो। कार्यक्रममा जेष्ठ नागरिकहरूप्रति सम्मान प्रकट गर्दै बीमा क्षेत्रमा जनविश्वास बढाउन कम्पनीले गरेको प्रयासको चर्चा गरियो।
यसै अवसरमा, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ता र कर्मचारीहरूको बीच सातौं वार्षिक उत्सव मनाएको छ। उपशाखा कार्यालयमा आयोजित उक्त उत्सव कार्यक्रममा कम्पनीका कर्मचारी, अभिकर्ता, र बीमा क्षेत्रका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो। वार्षिक उत्सवमा कम्पनीले आफ्नो प्रगति, ग्राहकसेवा सुधारका पहलहरू, र भविष्यका योजनाहरूको विशेष चर्चा गर्दै बीमितहरूका लागि थप आकर्षक सेवा र सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्यो।
कम्पनीले जेष्ठ नागरिक सम्मान र वार्षिक उत्सवको माध्यमबाट आफ्नो सामाजिक उत्तरदायित्वप्रति दृढ प्रतिबद्धता देखाउँदै बीमाको महत्त्वलाई व्यापक बनाउँदै गएको छ। यस प्रकारका कार्यक्रमहरूले बीमाको जनचेतना विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याएको छ, जसले ग्राहकहरूको विश्वास बढ्दै जानेछ र व्यवसाय विस्तारमा सहयोग पुग्नेछ।
प्रकाशित मिति: २०२४-०९-२२ , समय : २१:२४:०८ , ८ महिना अगाडि