पृथ्वीनारायण शाहको सल्लाहकार बिसे नगर्चीको इतिहास प्रकाशन

ईनेपालपत्र , १०८  पटक हेरिएको

माेरङ ७ भदाै ।  मोरङ पथरी शनिश्चरे १ निवासी खोजकर्ता लेखक दीपेन्द्रराज तिम्सिनाले “गुमनाम एक इतिहास बिसे नगर्ची” नामक पुस्तक प्रकाशन गरेका छन्। यो पुस्तक पृथ्वीनारायण शाह र उनका बुवा नरभूपाल शाहको सल्लाहकार बिसे नगर्चीको विषयमा गहिरो खोज र अनुसन्धानमा आधारित छ।

लेखकले बिसेको जन्मस्थल गोरखा पुगेर उनका सन्तानहरूसँग भेटघाट गरे र उनीहरूलाई दिइएको सनदपत्र र लालमोहरको अध्ययन गरे। साथै, नेपालका पुराना इतिहासकारहरूसँग सोधखोज गरी यो पुस्तक तयार पारिएको छ।

बिसे नगर्चीले नुवाकोट आक्रमणमा हार खाएर चिन्तित बनेका पृथ्वीनारायण शाहलाई सही समयमा उचित सल्लाह दिएर युद्ध जित्न महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनले राजाको आर्थिक समस्या समाधान गर्न प्रत्येक घरधुरीबाट १/१ रुपैयाँ उठाउने सल्लाह दिए, जसले हतियार खरिद गर्न मद्दत गर्यो।

बिसे नगर्चीको जन्म वि.सं. १७४६ मा भएको र मृत्यु वि.सं. १८२८ मा भएको मानिन्छ। उनी ८२ वर्ष बाँचेका थिए। उनी विभिन्न युद्धहरूमा सहभागी भएका थिए, जसमा नुवाकोटको युद्ध, नालदम, अजिरकोट, सिरानचोक र स्याङ्जाको लडाइँहरू प्रमुख छन्।

यो पुस्तक लिला निरौला तिम्सिनाद्वारा प्रकाशित र दमक श्रष्टा छापाखानाद्वारा मुद्रित १५६ पृष्ठको छ। पुस्तकमा ४९ वटा शीर्षकमा विषयवस्तु विभाजन गरिएको छ।

लेखक दीपेन्द्रराज तिम्सिनाको यो १२औं खोजमूलक कृति हो। उनले यस अघि विभिन्न विषयमा धेरै पुस्तकहरू लेखिसकेका छन्, जसमा स्थानीय इतिहास, समुदायिक वन, र विभिन्न जातिहरूको इतिहास समावेश छन्।

यो पुस्तकले नेपालको इतिहासमा महत्त्वपूर्ण भूमिका खेलेका तर लामो समयसम्म बेवास्ता गरिएका व्यक्तित्वको जीवनी र योगदानलाई उजागर गरेको छ।

प्रकाशित मिति: २०२४-०८-२३ , समय : १४:३०:१४ , २ महिना अगाडि