लेटाङ, मोरङ २३ साउन । हिमालय महायान देवाङ छ्योलिङ गुम्बा व्यवस्थापन समिति र तामाङ समाधि स्थल उपभोक्ता समितिको संयुक्त आयोजनामा आज लेटाङ-४ र ५ स्थित टुक्रे बनमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। सब डिभिजन कार्यालय लेटाङको सहयोगमा आयोजित यस कार्यक्रममा करिब ५ सय बिरुवा रोपिएको छ।
कार्यक्रमका बारेमा जानकारी दिँदै नेत्री कमला तामाङले स्थानीय तामाङ समुदाय सहित अन्य स्थानीयबासीहरुको उल्लेखनीय सहभागिता रहेको बताइन्। उनले भनिन्, “यस कार्यक्रमले वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। वृक्षरोपणको माध्यमबाट हरियाली विस्तार र जलवायु सन्तुलनमा सुधार आउने हाम्रो विश्वास छ।”
हिमालय महायान देवाङ छ्योलिङ गुम्बा व्यवस्थापन समितिका अध्यक्ष गणेश तामाङले कार्यक्रमको महत्व बारे बोल्दै भने, “हामीले यो वृक्षरोपण कार्यक्रम मार्फत हाम्रो समुदाय र वातावरण बीचको सम्बन्धलाई अझ बलियो बनाउन खोजेका छौं। यसले हाम्रो क्षेत्रको पर्यावरणीय सन्तुलन कायम राख्न मद्दत गर्नेछ।”
तामाङ समाधि स्थल उपभोक्ता समितिकी अध्यक्ष शान्ति पाख्रीनले थपिन्, “यो कार्यक्रम एक सुरुवात मात्र हो। हामी यसलाई निरन्तरता दिन प्रतिबद्ध छौं र आगामी दिनहरूमा पनि यस्ता वातावरण मैत्री कार्यक्रमहरू आयोजना गर्दै जानेछौं।”
कार्यक्रममा सहभागी स्थानीयबासीहरूले वृक्षरोपणलाई सफल बनाउन सक्रिय सहभागिता जनाएका थिए। विशेषगरी तामाङ समुदायको उच्च उपस्थिति र उत्साहले कार्यक्रमलाई थप सफल बनाएको थियो।
समापनमा सहभागीहरूले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने र आगामी दिनमा पनि वातावरण संरक्षणमा योगदान पुर्याउने खालका थप कार्यक्रमहरू आयोजना गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।