अनुहारमा पलाएको मासुका कारण जीवन अत्यन्तै कष्टकर

Enepal Patra Pvt. Ltd. , ६०३  पटक हेरिएको

नेपालगञ्ज, २३ पुस । बाँकेको कोहलपुर नगरपालिका वडा नं. १३ खड्कवार निवासी नेत्रलाल ओलीको अनुहारमा पलाएको मासुका कारण उहाँको जिवन अत्यन्तै कष्टकर बनेको छ । अनुहारको देब्रे भाग पूर्ण रुपमा मासुले छोपीएपछि उहाँले बर्षौदेखि ठुलो सास्ती खेप्दै आउनु भएको छ ।

मासुका कारण हेर्न र काम गर्न समस्या हुने गरेको जनाउँदै उहाँले सोही कारणले एकतर्फको अनुहार समेत लुकाएर बस्नुपर्ने बाध्यता आईलागेको दुखेसो सुनाउनुभयो ।

नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराउँदा समेत उहाँको समस्या ज्युँ का त्यूँ छ । परिवारको आर्थिक अवस्था कमजोर हुँदा हुँदै पनि शुरुका दिनमा भारतको दिल्ली र लखनउमा उपचार गराएको ओलीको भनाई छ । नेपालका चिकित्सकहरुलाई देखाउदा यहाँ उपचार सम्भव नभएको भन्दै उपचारका लागि विदेश जान सुझाउने गरेको बताउँदै उहाँ भन्नुहुन्छ–‘भारतमा उपचार गराउँदा सबै सम्पत्ति सिद्धियो, आर्थिक अभावका कारण अहिले घरमै बसीरहेको छु ।’

चिकित्सकले विदेश जान सल्लाह दिएपनि विदेश जाने पैसा नहुँदा घरमै बसेर कष्टकर जीवन जीउन बाध्य भएको उहाँको दुखेसो छ । उहाँका पिता बल बहादुर ओलीका अनुसार सानोमा नेत्रलालको अनुहारमा स साना बिबिरा देखिएका थिए, बिस्तारै ति ठुलो हुँदै फैलिएका हुन । शुरुमा सामान्य रुपमा अनुहारमा हेरिएको विविरा बढ्दै गएपछि ५ बर्षको उमेरमा भारतको दिल्ली अस्पतालमा लगेर अप्रेसन गराएको उहाँले बताउनुभयो ।

अप्रेसन पश्चात घाउ निको भएपनि मासु पलाउने क्रम भने झन् बढ्दै गएको उहाँले जनाउनु भयो । जन्मदा सामान्य अवस्था रहेकोमा दुई बर्षको उमेरबाट अनुहारमा मासु पलाउन थालेको जनाउँदै पिडित ओलीले हाल आएर एकतर्फको पुरै अनुहारमा मासु पलाएकोले धेरै समस्या भैरहेको बताउनु भयो । अनुहारमा पलाएको मासुले ओलीको अनुहारको एकभाग पुरै छोपीएको छ । मासुका कारण हेर्न र काम गर्न निकै समस्या हुने गरेको छ ।

सुरुमा आर्थिक अवस्था कमजोर हुँदाहुँदै पनि ओलीलाई नेपाल तथा भारतका विभिन्न ठाउँमा उपचार गराएको उहाँका भाई कृष्णलाल ओलीले बताउनु भयो । ‘सम्भव भएसम्म र अफ्नो क्षमताले भ्याएसम्म धेरै ठाउँमा उपचार गरायौं तर कुनै सुधार भएन उहाँले भन्नुभयोे, ‘आर्थिक अवस्था कमजोर छ, कुनै संघसंस्थाले सहयोग गरे दाईको उपचार सम्भव हुने थियो ।’नेपाल सरकार र अन्य विभिन्न संघसंस्था लगायत व्यक्तिसँग पनि उपचारका लागि सहयोग गर्न ओली परिवारले अपिल गरेको छ । ‘उपचारका लागि सहयोग जुटाईदिन सबैसंग विनम्र आग्रह गर्दछौं’–उहाँले भन्नुभयो ।
आफ्नो पनि अन्य मानिसजस्तै मुख खोलेर हिडडुल र कामकाज गर्ने चाहना रहेको उहाँले बताउनुभयो । गाेेेेेरखापत्र अनलाइन बाट ।

प्रकाशित मिति: २०२०-०१-०८ , समय : २१:४७:५६ , ४ वर्ष अगाडि