ईनेपालपत्र , १४५ पटक हेरिएको

धरान, ४ साउन । पत्रकार सञ्जिता धमालामाथि भएको आक्रमणमा संलग्न ७ जनाको रिहाइको माग गर्दै धरानको भानुचौकमा मेयर हर्क साम्पाङका पक्षधरहरुले शक्ति प्रदर्शन गरेका छन्।
प्रहरीले आक्रमणमा संलग्न ७ जनालाई पक्राउ गरी अभद्र व्यवहार कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइरहेको छ। प्रदर्शनकारीहरुले पक्राउ परेका व्यक्तिहरुलाई रिहा गर्न माग गर्दै सडकमा उत्रिएका हुन्।
प्रदर्शनमा सहभागीहरुले प्रहरीले पक्राउ परेका व्यक्तिहरुलाई तत्काल रिहा नगरे आन्दोलनलाई थप कडा बनाउने चेतावनी दिएका छन्। प्रदर्शनका क्रममा केही समयका लागि यातायात सेवा समेत प्रभावित भएको थियो।
धरान प्रहरीले भने यस घटनामा संलग्न सबैलाई कानूनी प्रक्रियामा ल्याउने र पत्रकारको सुरक्षामा कुनै सम्झौता नगर्ने बताएको छ।
पत्रकार सञ्जिता धमालामाथि आक्रमण हुनुको कारण भने अहिलेसम्म स्पष्ट भएको छैन। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०२४-०७-१९ , समय : १८:०१:४३ , १२ महिना अगाडि