मुख्यमन्त्री कार्कीको कृषि र पर्यटन विकासमा प्रतिबद्धता

इनेपालपत्र , ७९  पटक हेरिएको

लेटाङ,३१ असार ।  लेटाङ नगरपालिकाले आर्थिक वर्ष ०८१र०८१ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। यो कार्यक्रम असार १० गते सम्पन्न १५ औं नगरसभाबाट स्वीकृत बजेट सार्वजनिक गर्दै विशेष कार्यक्रम मार्फत सम्पन्न भयो। प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेट पुस्तिका अनावरण गर्दै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरे।

मुख्यमन्त्री कार्कीले कार्यक्रममा सम्बोधन गर्दै लेटाङ नगरपालिकाले सम्पूर्ण क्षेत्रलाई समेटेर परिपक्व बजेट ल्याएकोमा प्रशंसा व्यक्त गरे। साथै, कृषि क्षेत्र र पर्यटन विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता पनि जनाए। लेटाङ नगरपालिका मह उत्पादनमा प्रख्यात रहेको र कफि खेती सुरु भएकोमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए।

मुख्यमन्त्रीले लेटाङ नगरपालिकालाई कृषि र पर्यटनको प्रचूर संभावना बोकेको क्षेत्र भन्दै, विशेष समय मिलाएर कृषि उत्पादन र पर्यटन क्षेत्रको अवलोकनका लागि आउने प्रतिवद्धता जनाए। साथै, २०८२ साललाई कोशी पर्यटन वर्षको रुपमा मनाउने तयारीको जानकारी दिए।

नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष तथा पूर्वसांसद घनश्याम खतिवडाले लेटाङ क्षेत्रको विकासका लागि गर्नुपर्ने कामहरुको उल्लेख गर्दै, मदन भण्डारी राजमार्गको कारण विकासले गति लिएको बताए। उनले उत्तर दक्षिण जोड्ने विभिन्न राजमार्गहरुको स्तरोन्नती गर्नुपर्ने आवश्यकता औंल्याए।

लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्र कुमार लावतीले गत आर्थिक वर्षमा गरेका कामहरुको समीक्षा गर्दै आगामी आर्थिक वर्षको बजेटका विशेषताहरु बारे जानकारी गराए। उपप्रमुख कृष्णकुमारी निरौलाले ६० करोड ८५ लाख ३७ हजारको बजेट ल्याएको जानकारी दिइन्।

कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई, सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदार प्रसाद गुरागाईं, बेलबारी नगरपालिकाका प्रमुख डीपी राई, पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहन तुम्वापो, लेटाङका पूर्वनगर प्रमुख शंकर राई, विभिन्न दलका प्रतिनिधिहरु, सामाजिक संघसंस्थाका प्रतिनिधिहरु लगायतका आतिथ्यता थियो।

नगरपालिकाले विभिन्न विधामा उत्कृष्ट व्यक्तिहरुलाई सम्मान गर्दै सेवानिवृत्त शिक्षक, उत्कृष्ट कर्मचारी, उत्कृष्ट कृषक, एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, नगरका डाक्टर, पाइलट, खेलाडी, सामुदायिक वन आदि सम्मानित गरिए। साथै, स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने उद्देश्यले स्टल राखेर मह, कफि, सुपारीको टपरी, जुत्ताचप्पल, खाद्यान्न, ढाकाका कपडा, केराबाट धागो बनाउने प्रविधि, बाँसका कलात्मक सामग्री आदि प्रदर्शनी गरियो। करिब ५ सय जनालाई स्थानीय उत्पादनका परिकार कोदो र फापरको रोटी तथा गुन्दूककको अचार खुवाइएको थियो।

प्रकाशित मिति: २०२४-०७-१५ , समय : ०९:४२:२२ , ४ महिना अगाडि