ईनेपालपत्र संबाददाता , ९७ पटक हेरिएको
मोरङ, २३ असार । केराबारी गाउँपालिकाले शुक्रबार एक विशेष कार्यक्रमको आयोजना गरी हालै सम्पन्न प्रथम भारत अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका स्थानीय खेलाडीहरुलाई सम्मान गरेको छ।
गाउँपालिका अध्यक्ष सुमन मिरिंगचिंग मगरले नेतृत्व गरेको यस कार्यक्रममा १ स्वर्ण, ३ रजत र २ कास्य पदक सहित कुल ६ वटा पदक जित्न सफल खेलाडीहरुलाई विशेष सम्मान गरियो। खेलकुद विकास समितिका अध्यक्ष शरण थापा मगर लगायत अन्य गणमान्य व्यक्तिहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष मगरले केराबारीका युवाहरुमा रहेको खेल प्रतिभालाई थप निखार्न गाउँपालिकाले विशेष पहल गर्ने बताए। उनले भने, “हामी केवल तेक्वान्दोमा मात्र सीमित रहने छैनौं। फुटबल, भलिबल लगायत अन्य खेलहरुमा पनि युवाहरुको रुचि र सहभागिता बढाउन विशेष कार्यक्रमहरु ल्याउनेछौं।”
गाउँपालिकाले तेक्वान्दो खेलाडीहरुका लागि नियमित प्रशिक्षणको व्यवस्था मिलाउने घोषणा गरेको छ। यसले स्थानीय युवाहरुलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने विश्वास गरिएको छ।
यस कदमले केराबारी गाउँपालिकाको खेलकुद प्रतिको प्रतिबद्धता र स्थानीय प्रतिभाहरुको विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २०२४-०७-०७ , समय : ०५:४९:०७ , ४ महिना अगाडि