चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरिले २० करोड घुस मागेको दुर्गा प्रसाईको दाबी

शिक्षामन्त्री गिरिराज निकट गिरिको बिषयमा प्रचण्डलाई समेत जानकारी

Enepal Patra Pvt. Ltd. , ४४०  पटक हेरिएको

काठमाडौं २३ पूस । झापा स्थित बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरिले २० करोड घुस मागेको आरोप लगाएका छन् ।

उपाध्यक्ष गिरिले आफुलाई काठमाडौंको द्वारिका होटलमा भेट गर्न बोलाइ मेडिकल कलेज संचालन गर्नका लागि भन्दै मंसिर १५ गते २० करोड घुस मागेको आरोप प्रसाईले लगाएका हुन् ।

शिक्षा मन्त्री गिरिराज पोखरेल निकट मानिएका उपध्यक्ष गिरिले मेडिकल कलेज चलाउन घुस मागे पनि आफुले दिन नसक्ने बताएको बीएण्डसी सञ्चालक दुर्गा प्रसाईले काठमाडौ पत्रकार सम्मेलनमा बताएका छन् ।

उनले उपाध्यक्ष श्रीकृष्ण गिरिले २० करोड घुस मागेको बिषयमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराएको समेत बताएका छन् ।

विएण्डसीलाई सम्बन्धन दिन दाहालले कयौँ पटक प्रयास गरेका थिए । यो विषय प्रचण्डका लागि निकै टाउको दुखाईको विषय बनेको थियो । तत्कालीन एमाले र माओवादीको पार्टी एकताबारेको गोप्य बैठक प्रसाईकै घरमा बसेको थियो ।

बैठककै सिलसिलामा प्रसाईले जुम्लाको मार्सी चामलको भात खुवाएको फोटो सार्वजनिक भएपछि ओली र दाहालको निकै आलोचना भयो । यद्यपि, ओली र दाहालले सम्बन्धनका लागि प्रसाईँलाई नाईँनास्ती गर्न सकेनन् ।

प्रकाशित मिति: २०२०-०१-०८ , समय : १४:१७:५४ , ४ वर्ष अगाडि