प्रशान्त निरौला , १३० पटक हेरिएको

लेटाङ(माेरङ), १४ असार। माेरङकाे लेटाङ नगरपालिकाको आर्थिक वर्ष २०८०-८१ को दोस्रो सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेकाे छ । कार्यक्रममा नगरका विभिन्न विकास योजनाहरूको प्रगति विवरण प्रस्तुत गरिएकाे थियाे ।स्थानीय बासिन्दाहरूले नगरको समग्र विकास र नगरमा भइरहेको भ्रष्टाचारसम्बन्धी गुनासोहरू राखे।
नगरप्रमुख भुपेन्द्र कुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला र प्रमुख प्रशासनकीय अधिकृत नारायण न्यौपानेले स्थानीयहरूको प्रश्नहरूको उत्तर दिए। स्थानीयहरूले सडक, शिक्षा, स्वास्थ्य, र सरसफाइ सम्बन्धी विकास योजनाहरूको अवस्था, कार्यान्वयन, र पारदर्शितामा प्रश्न उठाए।
भ्रष्टाचारका घटनाहरूमा गम्भीर चासो व्यक्त गर्दै स्थानीयहरूले कतिपय योजनाहरूमा पारदर्शिता नहुनु, बजेटको सदुपयोग नभएको, ठेकेदारहरूको मनोमानी, र सार्वजनिक सेवामा ढिलासुस्ती भएको गुनासो गरे।
नगरप्रमुख लावतीले भ्रष्टाचार नियन्त्रणका लागि कडा कदम चाल्ने प्रतिबद्धता जनाउँदै सबै योजनाहरू पारदर्शी र जनउत्तरदायी बनाउने वचन दिए। उपप्रमुख निरौलाले पनि स्थानीयहरूको गुनासोहरूको समाधानका लागि तत्पर रहेको बताइन्। प्रमुख प्रशासनिक अधिकृत न्यौपानेले जनताले उठाएका विषयहरूको गहिरो अध्ययन गरेर तत्काल समाधानको उपाय खोज्ने प्रतिवद्धता जनाए।
कार्यक्रमले जनतासँग प्रत्यक्ष संवाद गरेर नगरपालिकालाई पारदर्शी र जवाफदेही बनाउन महत्वपूर्ण भूमिका खेलेको छ। स्थानीय बासिन्दाहरूले नगरपालिकाको यो प्रयासलाई सकारात्मक रूपमा लिएका छन्।
सुकुना मिडिया प्रालि एण्ड सर्भिस प्रालिले सहजिकरण गरेकाे कार्यक्रम लेटाङ नगरपालिका वडा नं २ फडानीमा गरिएकाे थियाे ।
प्रकाशित मिति: २०२४-०६-२८ , समय : १९:१४:०२ , ११ महिना अगाडि