हरकपुर–चप्रामारीलाई जोड्ने डाँस खोलामा पक्की पुल

Enepal Patra Pvt. Ltd. , ७९७  पटक हेरिएको

कानेपोखरी(मोरङ),२१ पुस । मोरङको कानेपोखरी–३ हरकपुर र सुनवर्सी १ को चप्रामारीको बीच भएर बग्ने डाँस खोलामा पक्की पुल निर्माण हुने भएको छ ।
सोमबार प्रदेश नं. १ मोरङ क्षेत्र नं २ (ख)का प्रदेशसभा सदस्य लीलाबल्लभ अधिकारीले एक समारोहका बीच पुलको शिलान्यास गर्नुभयो । कानेपोखरी ३ को हरकपुर खण्डमा भएको शिलान्यास कार्यक्रम पूर्वाधार विकास कार्यालय मोरङको आयोजनामा भएको थियो । कार्यालयका वरिष्ट डिभिजन इन्जिनियर सुशील श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनु भएका सांसद अधिकारीले प्रदेश सरकार गठन भएपछि नागरिकले विकास माग्न काठमाडौं जानु पर्ने क्रम अन्त्य भएको बताउनु भयो । उहाँले भन्नुभयो प्रदेश सरकारले संघीयता कार्यान्वयन भएको अनुभुति दिने गरी नागरिकलाई विकास, निर्माण दिने छ ।
शिलान्यास कार्यक्रममा सुनवर्सी नगरपालिकाका प्रमुख कालीप्रसाद दास,कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले, स्थानीय सडक पुल कार्यक्रमका इन्जीनियर मङ्केश्वर ठाकुर लगायतका वक्ताले बोल्नु भएको थियो ।
६ करोड ४५ लाख ४७ हजार ३६८ रुपियाँमा निर्माण हुने पुल ५१ दशमलव ३० मीटर लामो हुनेछ । पुलको चौडाई ६ मिटर हुनेछ भने दाँया वाँया डेढ मिटरको फुटपाथ हुनेछ । स्थानीय पुल सडक कार्यक्रम(एलआरबीपी)को प्राविधिक सहयोगमा निर्माण हुने पुल १८ महिना भित्रमा बनिसक्ने गरी सम्झौता भएको छ । यही पुस १० गते कार्की बन्धु कन्ट्रक्सन प्रालिले पुल निर्माण गर्ने जिम्मा पाएको पूर्वाधार विकास ले बताउनु भयो ।
पुल निर्माण भएपछि कानेपोखरी–३ र सुनवर्सी १ का बासिन्दा सहित वारीपारी गर्न ५ किलोमिटर घुम्नु पर्ने बाध्यता अन्त्य हुने स्थानीय हेमचन्द्र भण्डारीले बताउनु भयो ।

प्रकाशित मिति: २०२०-०१-०६ , समय : २०:०१:२२ , ४ वर्ष अगाडि