खानेपानीसँग गाउँपालिकाले सहकार्य गर्छ – अध्यक्ष काफ्ले

Enepal Patra Pvt. Ltd. , ८५८  पटक हेरिएको

कानेपोखरी(मोरङ) १९ पुस । मोरङको कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले गाउँपालिकाको आन्तरिक स्रोत कमजोर हुँदा ठूला आयोजना सम्पन्न गर्न सङ्घीय र प्रदेश सरकारसँग आस गर्नु पर्ने अवस्था रहेको बताउनु भएको छ ।

शनिबार कानेपोखरी – ७ स्थित बयरवन खानेपानी तथा सरसफाई उपभोक्ता समितिको तेस्रो साधारण सभामा बोल्दै उहाँले बजेट कम भएपनि खानेपानी उपभोक्ता समितिसँग सहकार्य गर्न गाउँपालिका तयार रहेको बताउनु भयो । अध्यक्ष काफ्लेले कतिपय विकास निर्माणका काम मौजुदा कानून र कार्य विधिबाट सम्पन्न गर्न नसकिने अवस्था रहेकोले जन अपेक्षा अनुसार तत्काल सम्पन्न गर्न नसकिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ३३ वटा ऐन तथा कार्य विधि बनिसकेका छन् । अझै ६४ वटा कार्य विधि र ऐन निर्माण गर्न आवश्यक देखिएको छ । प्रचार गाउँ गाउँमा सिंहदरबारको भयो तर, प्रचार भए अनुसार काम गर्न कानूनी जटिलता छ । जुन कुरा सर्वसाधरणलाई थाहा छैन् । उहाँले कानूनी समस्याका कारण हुन नसकेका कामहरूको पनि अपजस ब्योहोर्नु परेको सुनाउनु भयो ।
खासगरी पूर्वाधार निर्माणमा २ वर्ष बितेको उल्लेख गर्दै उहाँले भन्नुभयो – यो अवधिमा साडे १२ किलोमिटर सडक कालोपत्रे भएको छ ।
अध्यक्ष काफ्लेले बयरवन खानेपानी आयोजनाको विस्तृत सम्भाब्यता अध्ययन (डिपीआर)तयार गर्न आग्रह गर्नुभयो । उहाँले डिपीआरको खर्च गाउँपालिकाले ब्योहोर्ने समेत बताउनु भयो ।
कार्यक्रममा बोल्दै कानेपोखरी–७ का वडाध्यक्ष खड्गबहादुर बस्नेतले खानेपानीलाई सबैको पहुँचमा पुग्ने गरी बिस्तार गर्नु पर्नेमा जोड दिनुभयो । ग्रामीण सुधार सामूदायिक वन उपभोक्ता समूहका अध्यक्ष नवीन राईले खानेपानी समितिसँग सामूदायिक वनले सहकार्य गरेर विगत देखि नै काम गर्दै आएको बताउँदै त्यसलाई निरन्तरता दिने उल्लेख गर्नुभयो ।
संस्थाका अध्यक्ष हरिप्रसाद पौडेलको सभापतित्वमा भएको साधारण सभामा कोषाध्यक्ष भोलानाथ पराजुलीले गत आर्थिक वर्षको यथार्थ आय ब्यय र आगामी आर्थिक वर्षका लागि अनुमानित आय ब्यय प्रस्तुत गर्नुभयो । पराजुलीले १ करोड १६ लाख २७ हजार ६३४ रुपैयाँ ११ पैसाको आय–ब्यय प्रस्तुत गर्दै गत आर्थिक वर्षमा समितिले ३ लाख २९ हजार ८८९ रुपैयाँ २७ पैसा सञ्चालन नाफा गरेको बताउनु भयो । यस्तै लेखा तथा सुपरिवेक्षण समितिका संयोजक पुस्कर बजगाईले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
जनमुखी साकोसको सभाहलमा भएको साधारण सभामा उपाध्यक्ष विजय गोपाल गड्तौलाले स्वागत भाषण गर्नु भएको थियो भने सचिव बद्रीप्रसाद भट्टराईले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
२०५७ सालमा स्थापना भएको बयरवन खानेपानी तथा सरसफाई उपभोक्ता समितिले ३ वर्ष अघि देखि पानी वितरण गर्न थालेको हो । हाल ७६८ जना सदस्य रहेको उपभोक्ता समितिका ५८५ उपभोक्ताले धारा जडान गरिसकेका छन् ।आयोजना स्थल देखि ३९ दशमलव ३२७ किलोमिटर पाइपबाट पानी वितरण गर्दै समितिले आगामी आर्थिक वर्ष सम्ममा थप २८९ धारा जडान गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित मिति: २०२०-०१-०४ , समय : १९:४८:५६ , ४ वर्ष अगाडि