जनसेवाले स्वर्ण महोत्सव मनाउने

Enepal Patra Pvt. Ltd. , २०२२  पटक हेरिएको

कानेपोखरी(मोरङ)माघ ३ । मोरङको कानेपोखरी–६ रमाइलो स्थित जन सेवा माध्यमिक विद्यालयले माघ १९ देखि २७ गते सम्म स्वर्ण महोत्सव मनाउने भएको छ ।
स्वर्ण महोत्सव मनाउन विद्यालयले ब्यवस्थापन समितिका अध्यक्ष अम्बिकाप्रसाद अर्यालको अध्यक्षतामा १९१ सदस्यीय मूल समारोह समिति गठन गरेको छ । विद्यालयका प्रधानाध्यापक दामोदर सिग्देलका अनुसार विभिन्न ७ वटा उप समिति समेत गठन भएका छन् । सिग्देलका अनुसार खेमनाथ पौडेलको संयोजकतवमा प्रचार प्रसार,राजकुमार बरालको संयोजकत्वमा स्मारिका प्रकाशन,भोलाप्रसाद अधिकारीको संयोजकत्वमा आर्थिक ब्यवस्थापन,प्रमोद निरौलाको संयोजकत्वमा पुरस्कार तथा सम्मान र टङ्कबहादर अधिकारीको संयोजकत्वमा अतिरिक्त क्रियाकलाप उप समिति गठन गरिएको छ । यस्तै निर्माण उप समिति काशीराज थापाको संयोजकत्वमा गठन भएको छ भने मञ्च सजावट र अतिथि सत्कार उप समितिको संयोजक तोकिएको छैन् । यस्तै कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । समितिको सदस्यमा प्रदेश सभा सदस्य सुयर्माराज राई, गाउँपालिका प्रमुख ताराबहादुर काफ्ले, उप प्रमुख राजमति इङ्नाम र पूर्व प्रधानाध्यापक तुलाराम गुरूङ रहनु भएको छ ।
यसैबीच प्रचार प्रसार उप समितिले माघ ६ गते आइतबार पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ । उप समिति संयोजक खेमनाथ पौडेलले बिहीबारको उप समिति बैठकले पत्रकार सम्मेलन आयोजना गर्ने निर्णय गरेको जानकारी दिनुभयो । पौडेलले स्वर्ण महोत्सवको तयारी सम्बन्धि सूचना देश देशान्तरमा रहेका सम्पूर्ण पूर्व विद्यार्थी र शुभेच्छुकहरू सम्म पुगोस भनेर पत्रकार सम्मेलनको आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०१९-०१-१७ , समय : २१:०७:१७ , ५ वर्ष अगाडि