देशभर अझै चिसो बढ्ने

Enepal Patra Pvt. Ltd. , ६३९  पटक हेरिएको

काठमाडौँ, १९ पुस । शुक्रबार देशभर बदली रही देशका उच्च हिमाली भेगमा उच्च हिमपात कायम रह्यो । जुम्ला, मनाङ, मुस्ताङ, दार्चुला, डडेल्धुरा लगायतका उच्च हिमाली भेगमा शुक्रबार भारी हिमपात भएको छ । उपत्यका लगायतका जिल्लामा बिहानैदेखि वर्षा भइरहेको छ । वर्षा राति पनि कायम रहने जनाइएको छ ।
पहाडी तथा तराई भूभागमा भने दिनभर बदलीसहित वर्षा भयो । दिनभर घाम नलाग्दा चिसो बढेकाले जनजीवन कष्टकर हुन सक्ने भएकाले सावधानी अपनाउन मौसमविद् प्रतिभा मानन्धरले सजग गराउनुभयो ।
मौसम पूर्वानुमान महाशाखाले शनिबार मौसममा थोरै सुधार आए पनि देशका विभिन्न स्थानमा बदली हुने, वर्षा हुने र हिमपात हुने अवस्था कायमै रहने जनाएको छ । महाशाखाका अनुसार शुक्रबार देशभरको अधिकतम तापक्रममा गिरावट आएको छ ।
मौसमविद् सजिना शाक्यले न्यूनतम तापक्रममा भने खासै गिरावट आएको छैन, बदली भएकाले धरातलको तातो माथि जान सकेको छैन, त्यसैले न्यूनतम तापक्रम शुक्रबार त्यति घट्दैन भन्नुभयो । शनिबार भने मौसममा आउने सुधारका कारण तलको तातो माथि जानेछ र न्यूनतम तापक्रममा समेत
गिरावट आई चिसो थप बढ्नेछ ।
साँझसम्म कायम रहेको पाँच डिग्री सेन्टिग्रेट न्यूनतम तापक्रम राति घट्न सक्ने सम्भावना उहाँले औँल्याउनुभयो । गए राति भने ४.५ डिग्री न्यूनतम तापक्रम कायम रहेको थियो ।

प्रकाशित मिति: २०२०-०१-०४ , समय : १०:०६:२९ , ४ वर्ष अगाडि