निर्यातमा पाम तेलको मुख्य योगदान

Enepal Patra Pvt. Ltd. , ९०४  पटक हेरिएको

काठमाडौँ,१८ पुस  । चालू आर्थिक वर्षको पाँच महिनासम्म नेपालको निर्यातले विगतको तुलनामा केही धेरै वृद्धिदर हासिल गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार चालू आवको मङ्सिरसम्म नेपालबाट ४७ अर्ब ६१ करोड ६८ लाख रुपियाँको निर्यात भएको छ । जुन् अघिल्लो आवको मङ्सिरसम्मकै तुलनामा २६.९७ प्रतिशतले बढी हो । निर्यातमा भएको यति ठूलो वृद्धिदरका पछाडि पाम तेलको योगदान मुख्य रहेको तथ्याङ्कले देखाउँछ ।
पाम तेल नेपाली बजारका लागि नयाँ हो । यसको उत्पादन नेपालमा हुँदैन तर यो पाँच महिनामा नेपालबाट सबैभन्दा धेरै निर्यात हुनेमा पर्दछ । यो अवधिसम्म कुल ११ अर्ब ५२ करोड रुपियाँको यो तेल निर्यात भएको छ । यो कुल निर्यातको २४.१९ प्रतिशत हिस्सा हो । निर्यात मात्र हैन नेपालमा धेरै आयात हुने वस्तुमध्ये छैटौँ स्थानमा पनि पाम तेल नै छ । समीक्षा अवधिसम्म नेपालले इन्डोनेसियाबाट नौ अर्ब ९४ करोड रुपियाँको कच्चा पाम तेल आयात गरिसकेको छ । विदेशबाट कच्चा पाम तेल ल्याउने र त्यसलाई नेपालमा प्रशोधन गरेर भारतबाट पठाउने प्रवृत्ति पछिल्लो समय नेपालको निर्यात बजारमा देखिएको छ । भारतले तेस्रो देशबाट आयात हुने वस्तुमा ४० प्रतिशत भन्सार शूल्क लगाएपछि नेपाल हुँदै भारतीय बजारमा पाम तेल पुग्ने गरेको छ । नेपालबाट भारतमा पाम तेल निर्यात गर्दा भन्सार सहुलियतको सुविधा रहेकोले भारतीय व्यापारीले नेपालबाटै यसको आयात गर्न थालेका छन् । कच्चा पाम तेलमा न्यूनतम ३० प्रतिशत मूल्य अभिवृद्धि गरेर भारतमा प्रशोधित पाम तेल निर्यात हुने गरेको हो । यसका लागि मुख्य गरी विराटनगरमा प्रशोधन उद्योग सञ्चालनमा छन् । पाम तेलपछि निर्यातमा गलैँचा दोस्रो स्थानमा छ । पाँच महिनाको अवधिमा नेपालबाट तीन अर्ब २२ करोड रुपियाँको निर्यात भएको छ । त्यसपछि सोयाबिन तेल तीन अर्ब आठ करोड, धागो एक अर्ब ४७ करोड, चिया एक अर्ब ३५ करोड रुपियाँको निर्यात भएको छ ।
विभागका अनुसार नेपालले पाँच महिनामा छ खर्ब २८ अर्ब रुपियाँको अन्तर्राष्ट्रिय व्यापार गरेको छ । त्यसमध्ये पाँच खर्ब ८१ अर्ब रुपियाँको आयात भएको छ जुन अघिल्लो पाँच महिनाको तुलनामा ४.२४ प्रतिशतले कम हो । यस अवधिमा नेपालको व्यापार घाटा पाँच खर्ब ३३ अर्ब रुपियाँ पुगेको छ जुन अघिल्लो मङ्सिरसम्मको तुलनामा ६.३० प्रतिशतले कम हो । अघिल्ला महिनामा आयात घट्दो क्रममा रहे पनि मङ्सिरसम्म आइपुग्दा यस्तो घट्दो क्रम भने खुम्चिँदै गएको छ ।

 

प्रकाशित मिति: २०२०-०१-०३ , समय : ०८:५८:०० , ४ वर्ष अगाडि