बस्ती बसेको आधा शताब्दिपछि कानेपोखरीमा खानेपानी

enepalpatra , ९८९  पटक हेरिएको

हरि कोइराला
,कानेपोखरी(मोरङ) १७ पुस । मोरङको कानेपोखरीबासीले गाउँ स्थापना भएको आधा शताब्दि पछि शुद्धपानी पिउन पाउने भएका छन् ।
कानेपोखरी नजिकैको चिसाङ खोला अत्यधिक रुपमा उत्खनन हुँदा ३ वर्ष यता हरेक चैत बैशाखमा सो क्षेत्रका ट्युववेल ,इनार सुक्न थालेका छन् । गाउँमा खानेपानीको समस्या भएपछि प्रदेश सरकारले १ करोड रुपियाँ र सङ्घीय सरकारले ४२ लाख रुपियाँ बजेट विनियोजन गरी कानेपोखरीवासीलाई खानेपानीको प्रबन्ध मिलाइदिन लागेको हो । मोरङ ३(क)का प्रदेश सभा सदस्य सुयर्माराज राईले गत वर्षको पुस १७ गते शिलान्यास गर्नुभएको आयोजना निर्धारित समय भन्दा अघि नै सम्पन्न हुने उपभोक्ता समितिका अध्यक्ष मानबहादुर चौहानले बताउनु भयो ।
पुसमा शिलान्यास भएपछि फागुनबाट काम सुरु गरेको उपभोक्ता समितिले खानेपानी कार्यालयले ओगटेको ६ कट्ठा जमीनलाई पर्खाल लगाइ प्रशासनिक भवन निर्माणको काम गरिसकेको छ । २ लाख २५ हजार लिटर पानी अट्ने ओभर हेड ट्याङ्की १८ महिनामा निर्माण सम्पन्न गरी समूदायलाई हस्तान्तरण गर्ने सम्झौता भएको अध्यक्ष चौहानले बताउनु भयो । निर्धारित समय भित्र पानी उपभोक्ताको धारामा पु¥याउन एकसाथ पाइप बिछ्याने र ओभर हेड ट्याङ्की निर्माण काम भइरहेको छ । वोरिङबाट शुद्ध पानी आएको र उक्त पानीको परीक्षण समेत भइसकेको चौहानले बताउनु भयो ।
पूर्व पश्चिम राजमार्ग निर्माणसँगै बस्ती बसेको कानेपोखरीमा तत्कालिन समाजसेवी हरिप्रसाद अधिकारीले २०२५ तिर एउटा इनार खनाउनु भएको थियो । त्यहीँ इनारको पानीबाट कानेपोखरी दक्षिणको गाउँका वासिन्दा समेत लाभान्वित भएका थिए । ५० को दशकमा ट्युववेलको पानी पिउने प्रचलन आएसँगै कानेपोखरीको इनार मासियो । तर,नजिकैका खोलामा अत्यधिक उत्खनन र वन क्षेत्र मासिने क्रम बढेपछि कानेपोखरी आसपासका गाउँमा रहेका ट्युववेल र इनार सुक्न थालेका हुन् । राज्य पुनर्संरचना आयोगले साविक बयरवन,केरौन र होक्लाबारी गाविस समाहित गरेर गाउँपालिकाको नाम कानेपोखरी राख्यो । तर,पूर्वाधारका आधारमा हेर्ने हो भने कानेपोखरीमा केही बिकास भएको छैन् । ५० वर्ष देखि त्यहाँ बस्दै आएका मानिसहरू अझै भूमिहीन छन् ।

प्रकाशित मिति: २०२०-०१-०२ , समय : २१:०९:०४ , ४ वर्ष अगाडि