थापा र अधिकारी मेची –महाकाली यात्रामा

Enepal Patra Pvt. Ltd. , ७१८  पटक हेरिएको

पथरीशनिश्चरे , १७ पुस । पथरीशनिश्चरे नगर क्षेत्रका पर्यटकीय क्षेत्रहरूको प्रचार गर्न एवं नेपाल भ्रमण वर्ष सन् २०२० को प्रवद्र्धन गर्न मोरङको पथरीशनिश्चरेका २ जना मेची महाकाली मोटरसाइकल यात्रामा निस्किनु भएको छ ।
उहाँहरूले बिहीबर पथरीबाट यात्रा सुरु गर्नु भएको हो ।
यात्रामा नगरको वडा नं. ९ का ५३ वर्षीय मदनबहादुर अधिकारी र ३९ वर्षीय सुरेन्द्र थापा निस्किनु भएको हो । थापा र अधिकारीलाई संविधानसभा सदस्य चण्डीप्रसाद राई, नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले एक समारोहका बीच शुभकामना दिएर बिदाई गर्नुभयो । उहाँहरूको भ्रमणका लागि पथरीशनिश्चरे नगरपालिकाका वडा नम्वर १, ४ र ९ ले आर्थिक सहयोग गरेको छ । त्यस्तै नगरपालिका र नगरका सामुुदायिक वनले यात्रामा सहयोग गरेको छ ।
सामाजिक गतिविधिमा सक्रिय अधिकारी र थापाले नगरको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन एउटै मोटरसाइकलमा यात्रा थालेको बताउनु भयो । यात्रामा पर्यटकीय ठाउँहरुको अवलोकन गर्दै त्यहाँको फोटो र भिडियो सङ्कलन गर्ने तथा पथरीशनिश्चरे नगर क्षेत्रका पर्यटकीय क्षेत्रको प्रचार गर्ने लक्ष्य रहेको उहाँहरूको भनाई छ । भ्रमण दुई सातामा सम्पन्न गर्ने उहाँहरूको भनाई छ ।

प्रकाशित मिति: २०२०-०१-०२ , समय : २०:३७:४६ , ४ वर्ष अगाडि