जाँतेमा भेटियो ‘लाहा’

व्यवसायिक खेती गर्ने तयारीमा वन

इनेपालपत्र , ५९  पटक हेरिएको

१५ देखि ३५ डिग्रिसम्मको तापक्रममा लाहाको खेती, मोरङको राजमार्गदेखि उत्तर क्षेत्रमा लाहा खेती हुने विज्ञको सुझाब ।
लाहा प्राकृति रुपमा रुखमा भेटिने एक प्रकारको किरा हो ।

अनिल श्रेष्ठ
विराटनगर १६ मंसिर ।  मोरङको उत्तरी क्षेत्र लेटाङको सामुदायिक वनमा ‘लाहा’ भेटिएको छ । डिभिजन वन कार्यालय मोरङले निरीक्षण गर्दा लेटाङ नगरपालिका – ८ जाँते स्थित लालहिरा सामुदायिक वन भित्रको जंगलमा ‘लाहा’ भेटिएको हो ।

राम्रो आम्दानी लिन सकिने भएपछि लालहिरा सामुदायिक वनले व्यवसायिक रुपमा लाहा खेती गर्ने प्रक्रिया अगाडी बढाएको अध्यक्ष धनबहादुर राईले बताए । यहाँको सामुदायिक वन भित्र सिरिज, मौहा, वयर, पटके प्रजातिमा लाहा भेटिएको छ । लाहा प्राकृति रुपमा रुखमा भेटिने एक प्रकारको किरा हो । यसबाट ‘चप्रा’ लगायतका विभिन्न बस्तुहरु उत्पादन गर्न सकिन्छ । चप्रा फनिचर उद्योग र सुन पसलमा प्रयोग गरिन्छ ।

लाहा वनमा भेटिएपछि यसको संरक्षण गर्ने र व्यवसायिक रुपमा खेती गर्ने तयारी गरिएको अध्यक्ष राईले बताए । ‘सामुदायिक वन भित्र सिरिज र मौहा प्रजातिका ठूलो रुखहरुमा लाहा भेटिएको छ,’ उनले भने, ‘यसको संरक्षण गर्ने र व्यवसायिक रुपमा खेती गरेर वनको आम्दानी बढाउने विषयमा बैठक बसेर निर्णाय पनि भएको छ ।’ डिभिजन वन मोरङबाट पनि यस विषयमा सुझाब आएपछि लाहाको खेती गर्ने विषयमा अगाडी बढेको उनले सुनाए ।

केही दिन अगाडी डिभिजन वन कार्यालय मोरङका डिभिजन वन अधिकृत विष्णुलाल घिमिरेले उक्त वन निरीक्षण गरेका थिए । त्यस क्रममा सिरिज, मौहा, वयर, पटके प्रजातिमा लाहा भएको पुष्टि भएको थियो । लाहा पहाडी क्षेत्रको अलिक बढी खेती हुने गर्दछ । तराईको क्षेत्रमा लेटाङमा पहिलो पटक लाहा भेटिएको डिभिजन वन अधिकृत घिमिरले बताए । लाहा खेती गरेर यसबाट राम्रो आम्दानी लिन सकिने उनले बताए । खयर, बयरलगाएतका वनस्पति प्रशस्त मात्रामा लाहा भेटिने उनले बताए ।

‘लाहा खेती गरि विस्तार गर्न सके यसको माग र आवश्यकता व्यापक रहेको छ । लाहाबाट चप्रा उत्पादन गर्ने उद्योग रहेको छ,’ उनले भने, ‘चप्रा उत्पादन गर्ने उद्योगहरुले अहिले करडौं रुपैयाको लाहा आयत गर्ने गरेको छ । लाहाको बजारीकरणमा पनि कुनै समस्या नरहेको उनले बताए । किसानलाई लाहा खेतीबारे जानकारी दिन झापा, धनकुटा र संखुवासभाबाट लाहाको खेती गरिरहेका अगुवा किसान तथा विज्ञहरुलाई ल्याएर यसको बजार तथा खेती गर्ने तरिकाबारे जानकारी दिने उनले बताए । लाहा खेती गर्न इच्छुक निजी तथा सामुदायिक वनका उपभोक्ताहरूको तथ्यांक संकलन गरेर खेती विस्तारलाई जोड दिने तयारी पनि गरिएको उनले बताए । आवश्यक परे किसानहरुलाई अध्ययन भ्रमणसमेत गराउने योजना रहेको उनको भनाइ छ ।

‘पहाडी जिल्लाहरु भोजपुर, संखुवासभामा लाहा खेतीका लागि धेरै क्षेत्रहरु उपयोगी छन् । यसको व्यावसायिक खेती गर्न सके वन पैदावरको सरक्षणसँगै आयस्तरलाई बृद्धि गर्न सकिन्छ,’ उनले भने, ‘यहाँका किसानहरुलाई खेती प्रविधिको विषयमा जानकारी दिएर व्यावसायिक बनाउने योजना रहेको छ ।’ आम्दानी राम्रो हुने भएकोले यस खेतीप्रतिको आर्कषण बढने उनले बताए ।

किसानहरुलाई आयआर्जनमा जोड्न सकिने साथै खेर गइरहेका जमिनहरुको सदुपयोग हुने भएकाले लाहाको खेतीमा जोड दिनुपर्ने उनले बताए । ‘मोरङको वनमा पहिलो पटक लेटाङमा लाहा भेटिएको छ । लालहिरा सामुदायिक वनमा लाहा खेती गर्न सकिन्छ,’ उनले भने, ‘यसलाई सफल बनाउन हामी पनि योजनाबद्ध रुपमा काम गर्छौँ । बजारीकरणको लागि कुनै समस्या छैन ।’

बजारमा लाहाको माग धेरै रहेको झापामा लाहाको उद्योग सञ्चालन गरिरहेका डम्बर विश्वकर्माले बताए । जति उत्पादन भएपनि उत्पादित लाहाको जिम्मा आफूले लिने उनको भनाइ छ । ‘अहिले पनि लाहाको बजार मागलाई धान्न सकिएको छैन । नेपालमा यसको खासै खेती हुँदैन । अहिले पनि भारतको बजारबाट लाहाको खरिद गर्नु पर्ने अवस्था छ,’ उनले भने, ‘तेह्रथुम, भोजपुर, धनकुटा, झापा र संखुवासभालगायत ठाउँबाट पनि केही मात्रामा लाहाको कच्चा पदार्थ ल्याउने गरेको छु । त्यसैले जति पनि उत्पादित लाहा हुन्छ । त्यसको बजारको जिम्मा म लिन्छु । यसबाट हामीले आयस्तरलाई राम्रो बनाउन सक्छौ भने, भारत जाने करोडौँ रुपैयाँलाई नेपालमा रोक्न सक्छौं ।’

भारतमा १५ वर्षभन्दा बढी लाहा उत्पादन गर्ने कम्पनीमा काम गरेर त्यसको अनुभवको आधारमा नेपाल नै उद्योग खोलेको विश्वकर्माले बताए ।
लाहालाई खयर, बयर, मौवा प्रजातिका रुख विरुवासँगै सामिया लता जातको विरुवालाई विस्तार गरेर व्यावसायिक रुपमा खेती गर्न सकिने उनको भनाइ छ ।

‘खयर, बयर नभएका स्थानमा सामिया लता जातको विरुवा विस्तार गरेर लाहाको व्यावसायिक खेती गर्न सकिन्छ । यस्ता जातका विरुवामा लगाएको लाहाले १० वर्षसम्म आम्दानी लिन सकिन्छ,’ विश्वकर्माले भने, ‘यसबाट कुसुमी जातको लाहा उत्पादन हुन्छ । जुन लाहाको मूल्य र माग रंगिनी जातको लाहाभन्दा धेरै बढी छ । यसबाट दुई पटक लाहा संकलन गर्न सकिन्छ । यो प्रजातिको विरुवा बढीमा पाँचदेखी सात फिट उचाई हुने भएकाले संकलन गर्न सजिलो छ भने उत्पादन पनि राम्रो लिन सकिन्छ ।’
लाहाको कच्चा पदार्थ प्रतिकिलो २५० देखि ८०० रूपैयाँसम्म र यसको प्रशोधन गरेपछि प्रतिकिलो एक हजार ८०० देखि दुई हजार रूपैयाँसम्म बिक्री हुने गरेको विश्वकर्माले जानकारी दिए । फर्निचर कारखाना, सुन पसललगायत अन्य विभिन्न काममा प्रयोग हुने लाहा भारतीय बजारबाट आउने गरेको उनको भनाइ छ ।

१५ देखि ३५ डिग्रिसम्मको तापक्रममा यसको खेती हुन्छ । मोरङको राजमार्गदेखि उत्तर क्षेत्रमा लाहा खेती हुने विज्ञहरुले बताएका छन् । अहिले गौरदहमा १० हजार विरुवा लगाएको छ । भारतबाट लाहाको विरुद्ध लगाएर झापामा व्यवसायिक खेती सुरु गरिएको छ । एउटा विरुवामा पहिलो वर्ष २५० ग्राम लाहा उत्पादन हुने गरेको छ । किरा छोडिएको ६ महिना भित्रमा लाहा उत्पादन हुने गर्दछ ।

प्रकाशित मिति: २०२३-१२-०२ , समय : १०:१२:५१ , ३ महिना अगाडि