केएमसीमा बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.अरुण सायमीको सेवा सुरु

ईनेपालपत्र समाचारदाता , १२९  पटक हेरिएको

काठमाडौं, ३ साउन । बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.अरुण सायमीले सोमबारबाट काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार सेवा सुरु गरेका छन् । चार दशक अघिदेखि मुटुरोगीको उपचारमा सक्रिय प्रसिद्ध डा.सायमी केएमसीमा आवद्ध भएर उपचार सेवा सुरु गरेका हुन् ।

उपचार सेवालाई थप स्तरीय बनाउँदै लगेको केएमसीले डा.सायमीलाई भित्र्याएर मुटुरोग विभागको सेवालाई थप मजबुत बनाएको केएमसीका अध्यक्ष सोइना शर्माले जानकारी दिइन् । शहीद गंगालाल ह्दय केन्द्रका संस्थापक अध्यक्षसमेत रहेका सायमीले २१ वर्ष प्रधानमन्त्रीको निजी चिकित्सकको रुपमा काम गरेका थिए । डा.सायमीको प्रवेशसँगै केएमसीको मुटु विभागमा विशेषज्ञ डाक्टरहरूको थप मजबुत टिम बनेको अस्पतालका जेनेरल मेनेजर नारायण दाहाल बताउँछन् ।

केएमसीको मुटु विभागमा प्रा.डा.सञ्जय श्रेष्ठ, डा.आदित्य महासेठ लगायत विशेषज्ञ डाक्टरहरू पनि कार्यरत छन् । बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.राजेश नेपाल र डा.सहदेव ढुंगानाले पनि सेवा दिने गरेका छन् । डा.सुनिल शर्माको प्रवेशसँगै स्तरीय सेवा सुविधा विस्तारलाई तीव्रता दिएको केएमसीले अहिले पनि त्यसलाई जारी राखेको छ । मुटु विभागको सेवामा पनि निकै सुधार गरिएको छ ।

केएमसीले करिब छ महिना अघिबाट अत्याधुनिक ‘वाइप्लेन क्याथल्याब’ पनि सञ्चालन गरेको छ । न्युरो, कार्डियो र भास्कुलर सर्जरी गर्न मिल्ने प्रविधिसहितको सो क्याथल्याब नेपालमै पहिलो पटक सञ्चालन गरिएको हो ।

प्रकाशित मिति: २०२३-०७-१९ , समय : ०८:०१:१३ , १० महिना अगाडि