महोत्वसवमा मातृभाषाका कविता प्रतियोगीता

हाम्रो समाचारदाता , १८१  पटक हेरिएको

काठमाडौँ, ७ असार । नेपाल प्रज्ञा–प्रतिष्ठानले ६६औँ वार्षिकोत्सवका अवसरमा आयोजना गर्न लागेको राष्ट्रिय कविता महोत्सवमा यस वर्षदेखि मातृभाषाका कवितालाई पनि प्रतियोगितामा सहभागी गराइँदैछ ।
प्रतिष्ठाले हरेक वर्ष असार ९ गते आयोजना गर्दै आएको महोत्सवमा परम्परागतरुपमा नेपाली भाषाका कविताका अतिरिक्त यस वर्षदेखि समावेशी सहभागिताका लागि पहिलो पटक बहुभाषिक कविता आह्वान गरेपछि मातृभाषाका कवितासमेत प्राप्त भएको प्रतिष्ठानले जनाएको छ ।
प्रतियोगिताका लागि आएकामध्ये मूल्याङ्कन समितिबाट वाचनका लागि २५ कविता छनोट भएका छन् । प्रतियोगिताका लागि नेपाली, लिम्बू, डोटेली, खाम मगर, नेपालभाषा, चाम्लिङ र थामी भाषाका गरी कूल २५ कविता  छानिएका  छन् ।
नेपाली भाषाका १८ कविता छानिएका प्रतिष्ठानका काव्य विभाग प्रमुख बाबा बस्नेतले जानकारी दिनुभयो । मातृभाषामा प्रस्तुत हुने कवितालाई अनुवादकको प्रबन्ध गरिने उहाँले बताउनुभयो ।
उहाँका अनुसार महोत्सवका लागि इमेल र प्रत्यक्ष गरी  छ सय ४४ कविता दर्ता भएका थिए । प्रतियोगितामा उत्कृष्ट १० कविलाई जनही रू १५ हजार राशिको पुरस्कार दिइने छ ।
प्रतिष्ठानका कतिपय पूर्व पदाधिकारीले भने विगतमा भातृभाषा कवि सम्मेलन अलग्गै गरिएकामा राष्ट्रिय कविता महोत्सवलाई बहुभाषिक बनाएर नेपाली भाषालाई अवहेलना गरिएको तर्क गर्दै आएका छन् ।

प्रकाशित मिति: २०२३-०६-२२ , समय : १६:३७:१२ , ११ महिना अगाडि