बेलिब्रिज खरिद गर्न छुट्याएको ८ करोड बजेट मुख्यमन्त्री र मन्त्रीको क्षेत्रमा रकमान्तर

ईनेपालपत्र समाचारदाता , ३७४  पटक हेरिएको

विराटनगर , ६ असार । कोशी प्रदेशका तीन जिल्ला अत्याधिक वर्षाका कारण तीन दिनदेखि प्रभावित छन् । कतिपय खोला तथा नदीहरुका पक्की पुल बाढी र पहिरोले बगाएको कारण सडक यातायात अबरुद्ध छ ।

बाढीले पक्की पुल बगाएर सम्बन्ध विच्छेद भएका ताप्लेजुङ, पाँचथरको विभिन्न स्थानीय तहका लागि तत्काल आवश्यक परेको छ । मेची राजमार्गको पाँचथर–ताप्लेजुङ खण्डमा रहेको हेवा खोलामा रहेको पक्की पुल बाढीले बगाएपछि सडक अबरुद्ध छ । पाँचथर फालेलुङको लुमाङ दिन, घुमाउने र याङ्वरकको दोभानेमा पुल बगाएपछि आवागमन अबरुद्ध छ ।

बाढी पहिरोको प्रकोपपछि प्रधानमन्त्री प्रचण्डदेखि कोशी प्रदेशका मन्त्रीहरु पनि प्रभावित क्षेत्र गएका छन् । उनीहरुको प्रतिबद्धता मिल्दोजुल्दो नै छ । जसमा तत्कालै घाइतेको उद्धार, पीडित परिवारलाई क्षतिपूर्ति र राहत, उनीहरुको पुनःस्थापना र भत्किएका पुलहरुको साटो अल्पकालिन समाधानका लागि बेलिब्रिज स्थापना ।

विपद्को कारण बाढीले पुल बगाएका स्थानमा सडक सुचारु गर्ने तत्कालको उपाय बेलिब्रिज हो । कोशी प्रदेश सरकारले त्यसलाई नै ध्यान दिएर चालु आर्थिक वर्षमा बेलिब्रिजको लागि ८ करोड रुपैयाँ बजेट बिनियोजन गरेको थियो । तत्कालिन आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले विपद्को पूर्वतयारीको लागि १० वटा बेलिब्रिज खरिद गर्न ८ करोड रुपैयाँ बिनियोजन गरेको घोषणा बजेटमै गरेका थिए ।

प्रदेश सरकारले बजेटमा घोषणा गरेको रकमबाट बेलिब्रिज खरिद गरेको भए अहिले बाढीले पुल बगाएका स्थानमा तत्काल त्यसलाई राखेर सडक सञ्चालन गर्न सकिने अवस्था थियो । तर, बेलिब्रिज खरिद गर्न छुट्याएको बेट नै प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीले रकमान्तर गरेर आफ्नो निर्वाचन क्षेत्रमा लगेको खुलेको छ ।

पहाडी र दुर्गम क्षेत्रका ग्रामीण सडकहरुमा बाह्रै महिना यातायात सञ्चालन गर्न १० वटा बेलिब्रिज खरिदको लागि छुट्याएको ८ करोड रुपैयाँ हिक्मतकुमार कार्कीले आफू मुख्यमन्त्री भएपछि रकमान्तर गरेर आफ्नो निर्वाचन क्षेत्रमा लगेको खुलेको छ । मुख्यमन्त्री कार्कीसँगै प्रदेश सरकारका मन्त्रीको निर्वाचन क्षेत्र सो रकम रकमान्तर गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

बेलिब्रिज आवश्यक नभएको भन्दै मुख्यमन्त्रीले रकमान्तर गर्न निर्देशन दिएपछि सो रकम झापा र तेह्रथुमका विभिन्न आयोजनामा गएको मन्त्रालय स्रोतको भनाइ छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पनि मुख्यमन्त्री कार्कीसँगै रहेकोले बेलिब्रिज खरिद गर्न छुट्याएको रकम रकमान्तर गरि निर्वाचन क्षेत्रमा लगिएको हो ।

मन्त्रालय स्रोतका अनुसार मुख्यमन्त्री कार्कीको निर्वाचन क्षेत्र झापा ५ ९१० र केहि दिन अगाडि राजीनामा दिएका भौतिक पूर्वाधार विकासमन्त्री दुर्गाप्रसाद चापागाईंको निर्वाचन क्षेत्र तेह्रथुम २ मा ४–४ करोड रुपैयाँ रकमान्तर गरिएको छ । ‘मन्त्रालयमा आएर डिटेल हेर्दा हुन्छ नि, मुख्यमन्त्री र मन्त्रीको क्षेत्रमा ४–४ करोड गएको छ,’ स्रोतले भन्यो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकृत ललितकुमार चौधरीले बेलिब्रिज खरिद गर्न छुट्याइएको रकम रकमान्तर गरिएको पुष्टि गरे । ‘बेलिब्रिजको बजेट रकमान्तर गरेर अन्तै गइसकेको छ,’ उनले भने, ‘डिटेल त्यो बजेट कहाँ गयो र कता गयो भन्ने चै थाहा भएन । तर, अहिले त्यो बजेट भएको भए धेरै काम दिने रहेछ ।’ तत्कालिन भौतिक पूर्वाधारमन्त्री चापागाईंले भने बेलिब्रिजको रकम रकमान्तर भएकोबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।

बेलिब्रिजको लागि रकम बिनियोजन गरेका तत्कालिन आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले भने विनियोजन गरेको बजेटको अवस्था र बेलिब्रिज खरिद प्रक्रिया कहाँ पुग्यो भन्दै सरकारसँग प्रश्न गरेका छन् । ‘आकस्मिक विपदकै लागि आवश्यक पर्ने भनेर बेलिब्रिज खरिद गर्न चालू आर्थिक बर्षमा प्रदेशको बजेटमा ८ करोड विनियोजन गरिएको थियो । प्रदेश सरकार १ बेलिब्रिजको खरिद प्रक्रिया कहाँ पुग्यो,’ उनको प्रश्न छ, ‘कि खरिद गरेर कहाँ राख्नु भएको छ रु बाढीले पक्की पुल बगाएर सम्बन्ध विच्छेद भएका ताप्लेजुङ, पाँचथरको विभिन्न स्थानीय तहका लागि तत्काल आवश्यक परेको छ । प्रदेश सरकारसँग मेरो आग्रह छ तत्काल व्यवस्थापन होस् ।’

 

हाम्रोमत दैनिकबाट

प्रकाशित मिति: २०२३-०६-२१ , समय : ०६:१५:०० , १ वर्ष अगाडि