अध्यक्ष सचिव गाेष्टीकाे १८ ओैं श्रृङखला सुन्दरहरैँचामा सम्पन्न

सहकारीलाई करमुक्त क्षेत्र बनाउन माग

hari , ४९२  पटक हेरिएको


सुन्दरहरैँचा, २० जेठ । सहकारी राष्ट्रिय महासङ्घका उपाध्यक्ष रमेशप्रसाद पोख्रेलले नेपालको कुल बित्तीय कारोवारमा १८ प्रतिशत हिस्सा सहकारीको रहेको बताउनु भएको छ ।
जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि. मोरङले शनिवार आयोजना गरेको अध्यक्ष सचिव गोष्ठीको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । सरकारले तीन खम्बे अर्थनीति भनेर सहकारीलाई देशको अर्थतन्त्रमा सहभागि गराएपनि हरेक वर्ष कर थप्ने र सहकारीको भूमिका खुम्च्याउने काम गरिरहेको बताउँदै उहाँले कर संसोधन नभए आन्दोलन गर्नुको विकल्प नहुने उल्लेख गर्नुभयो । सहकारीमा सेयर सदस्य सङ्ख्या ७३ लाख ८१ हजार २१८ रहेको उल्लेख गर्दै करिब साढे ३१ हजारको सङ्ख्यामा रहेका सहकारीको सेयर पुँजी ९४ अर्ब १५ करोड रुपियाँ रहेको बताउनुभयो ।

यस्तै चालु आर्थिक वर्षको आठ महिनासम्ममा सहकारी क्षेत्रमा चार खर्ब ७८ अर्ब तीन करोड रुपियाँ बचत परिचालन भएको र चार खर्ब २६ अर्ब ३५ करोड रुपियाँ कर्जा लगानी भएको उहाँको भनाई थियो ।सहकारी क्षेत्रमा जात,भाषा,धर्म,लिङ्ग र राजनीति प्रवेश नगरेको बताउँदै पोख्रेलले भन्नुभयो – विश्व अर्थतन्त्रमा परेको प्रभावका कारण नेपालमा देखिएको आर्थिक सङ्कट अझै टरिसकेको छैन् । त्यसैले सहकारी संस्थाहरू बीचमा एकता,अन्तरसहकारी सहयोग र समन्वय निरन्तर चलिरहनु पर्छ ।
पुर्व सांसद एवम् नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लि. का पूर्व महासचिव घनश्याम खतिवडाले गाँस काटेर बचत गरेको पैसामा सरकारले कर लगाउनु नहुने बताउनु भयो ।


सुहकारीहरू नाफाका पछि नभई सदस्यको आर्थिक समृद्धिमा लाग्नुपर्नेमा जोडदिँदै खतिवडाले शेयर सदस्यले आफू सदस्य भएको संस्थामा २५ लाख भन्दा बढी रकम राख्न नपाउने ब्यवस्था अबिलम्ब हटाउनु पर्ने बताउनु भयो । उहाँले केही समयका लागि सहकारीको तरलता ब्यवस्थापन गर्न सरकारले १० अर्ब रुपियाँ सहकारीलाई दिनु पर्ने उल्लेख गर्नुभयो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लि.(नेफ्स्कुन)का अध्यक्ष परितोष पौड्यालले ‘अर्थतन्त्रको पुनरुत्थानका लागि सामाजिक एकता अर्थतन्त्र’ विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियोे । कार्यपत्रमा टिप्पणी गर्दै सहकारी विभागका उप रजिष्टार टोलराज उपाध्यायले सहकारीको लगानी क्षेत्र बदल्नु पर्ने बताउनु भयो । उहाँले भन्नुुभयो – विगतमा समग्र देशको लगानी आयात,घरजग्गा र शेयरमा थियो । सहकारीहरू पनि त्यसैका पछि थिए । अब लगानीको क्षेत्र कृषि उत्पादन र रोजगार सिर्जनामा केन्द्रीत हुनुपर्छ । बिदेशबाट भित्रिएको सहकारी अभ्यासहरू जस्ताको तस्तै नेपालमा प्रयोग गर्न नसकिने बताउँदै नेपालको भूगोल र आर्थिक ब्यवस्थाका आधारमा त्यसको मोडल पनि परिवर्तन गर्नुपर्छ, उहाँले भन्नुभयो । उप रजिष्टार उपाध्यायले विद्यमान ४७ वटा ऐन नै सहकारीको समृद्धिका लागि बाधक रहेकोले तीनको संसोधन आवश्यक रहेको उल्लेख गर्नुभयो । सङ्घका जिल्ला अध्यक्ष प्रेमप्रकाश कोइरालाले अध्यक्षकाे तर्फबाट बाेल्दै तरलता ब्यवस्थापनकाे कठिन समयमा पनि जिल्ला सङ्घकाे स्कुलिङमा रहेका साकाेसहरू बीना समस्या सञ्चालनमा रहेको बताउनुभयो । काेइरालाले अध्यक्ष सचिवका प्रत्येक श्रृङखला केही न केही नयाँ सन्देश दिएर सम्पन्न हुने गरेको बताउनुभयो । उहाँले जिल्ला सङ्घ माेरङले सुरु गरेका अभ्यासहरूलाई देशभरका सङ्घहरूले पछ्याई रहेको बताउँदै १८ ओैं श्रृङखलामा संस्थापकहरूलाई सम्मान गरेेर अर्काे नयाँ कामकाे थालनी गरेकाे उल्लेख गर्नुभयो ।
सुन्दरहरैँचा ४ काे त्रिवेणी रिभरसाइड रिसाेर्टमा भएको कार्यक्रममा सङ्घका उपाध्यक्ष एकराज निराैलाले जिल्ला सङ्घका ३० वर्षका महत्त्वपूर्ण उपलब्धि र हालकाे आर्थिक अवस्थाका विषयमा संक्षिप्त “स्लाइड” प्रस्तुत गर्नुभएको थियोे ।
सङ्घका सचिव जीवन बस्नेतले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष सीता लामिछानेले स्वागत भाषण गर्नु भएको थियोे । कार्यक्रममा नेफ्स्कुन सञ्चालक गाेमा नेपाल ,घनश्याम अधिकारी ,झापा र सुनसरी सङ्घका अध्यक्ष एवम् प्रतिनिधि लगायत सङ्घमा आवद्ध ११३ साकाेसका १९० जना प्रतिनिधि , आयाेजक,अतिथि ,सम्मानित ब्यक्तिहरू , नेफ्स्कुन र जिल्ला सङ्घका कर्मचारी गरि २६१ जनाकाे सहभागिता रहेको थियोे ।

प्रकाशित मिति: २०२३-०६-०४ , समय : २०:५९:२६ , ११ महिना अगाडि