देउवाले पार्टीलाई धरापमा पारेको आरोप

Enepal Patra Pvt. Ltd. , ५६२  पटक हेरिएको

काठमाडौं, १३ पुस  । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका तीन शीर्ष नेताले केन्द्रीय कार्यसमितिले शुक्रबार गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै सभापतिले पार्टीलाई धरापमा पारेको आरोप लगाउनु भएको छ ।
सभापति शेरबहादुर देउवासहितका बहुमत सदस्यहरुको बैठकले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुका साथै विभागको संख्या २८ बाट बढाएर ४७ पुराउने निर्णय गरेको थियो ।
केन्द्रीय समितिको बैठकमा नगएर असन्तुष्टि जनाउँदै आएको पौडेल समूहले शनिबार महाराजगन्जस्थित महामन्त्री डा. शशांक कोइरलाको निवासमा जम्मा भएका पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाको आलोचना गर्नुभयो । वरिष्ठ नेता पौडेलले १४ औं महाधिवेशन कार्यतालिका र विधान मिचेर गरिएको विभाग गठन निर्णय नमान्ने चेतावनी पनि दिनुभयो ।
नेता पौडेलले भन्नुभयो, “पार्टीलाई धरापमा पारियो, हामीसँग जति भए पनि समय थियो । २०७७ मंसिर ४ र ५ गतेतिर महाधिवेशन गराउनुपर्छ भन्ने हाम्रो माग थियो, तर २०७७ को पल्ला छेउमा लगेर महाधिवेशनको मिति तोकियो । यो नै डरलाग्दो कुरा हो ।”
यसैगरी, महामन्त्री डा. कोइरालाले पनि सभापति देउवाको निर्णय कदमको विरोध गर्नुभयो । कांग्रेस एकताबद्ध भएर अगाडि बढे मात्रै जनताले मुलुक सञ्चालनको पालो दिने छन् भन्दै ‘यदि गुट र उपगुट बनाउने हो भने जनताले हामीलाई पत्याउँदैनन् भन्नुभयो ।
उहाँले सभापति देउवासँग छलफल भइरहेको बेलामा बैठकको निर्णय सार्वजनिक हुन ठीक भएन भन्दै आपत्ति प्रकट गर्नुभयो । महामन्त्री कोइरालाले सभापति देउवाको निर्णयले कांग्रेसको अस्तित्व खतरामा पार्ने काम भएको आरोप पनि लगाउनुभयो ।
पूर्व महामन्त्री प्रकाशमान सिंहले अन्तिम समयमा म्याद थपौँ भन्ने कुरा ठीक नभएको भन्दै सभापति देउवाको कदमको विरोध गर्नुभयो । बेला बेलामा सभापति देउवाप्रति कडा भनाइ राख्दै आउनु भएका सिंहले कार्यसमितिले गरेको निर्णय ‘लोकतान्त्रिक पार्टीभित्रको अलोकतान्त्रिक कदम’ भएको टिप्पणी गर्नुभयो ।

प्रकाशित मिति: २०१९-१२-२९ , समय : ११:५९:३९ , ४ वर्ष अगाडि