बजेट अभावमा अलपत्र आधुनिक बधशाला

hari , २७४  पटक हेरिएको

वधशालाको आधुनिक घर

पथरीशनिश्चरे,२७ चैत । मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगरमा निर्माण गरिरहेको आधुनिक बधशाला –पशु काट्ने घर )निर्माण भइसके पनि उपकरणको अभावमा प्रयोगमा आउन सकेको छैन् ।
कोशी प्रदेश सरकारको पशुपंक्षी निर्देशनालयको पशु वधस्थल निर्माण सुधार कार्यक्रम अन्तर्गत नगरको १ नम्वर वडामा बधशाला निर्माण गरिएको थियो । पशु बध गर्ने घर निर्माण भएको २ वर्ष हुनै लागिसक्यो । तर, बधशाला भित्र आवश्यक पर्ने उपकरण खरिद गर्ने बजेट अभाव हुँदा काम रोकिएको नगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्र्रसाद खरेलले बताउनु भयो । पथरी बजारको गोसलाइनमा निर्माण भएको बधशाला निर्माणका लागि प्रदेश सरकारले ५० लाख रुपियाँ अनुदान दिएको थियो । छिमेकी नगरपालिकाको साझेदारी सहित कूल ७५ लाख १४ हजार ४ सय ५१ रुपियाँमा लागतमा बधशाला निर्माण गर्ने योजना बनेको थियो । तर, निर्माण कम्पनी मादी आरकेडा कन्ट्रक्सन इटहरीले ५० लाख ९३ हजार ५ सय ७९ रुपियाँमा बधशाला(घर) निर्माण गरेर नगरलाई जिम्मा लगाइसकेको छ ।
बधस्थलमा दैनिक ठूला ५ वटा र साना १२ वटासम्म पशु वध गर्न र प्रशोधन गर्न सकिने छ । वडा नं.१ का वडाध्यक्ष भीमकुमार राईले भन्नुभयो –‘बधशालामा भित्र पशुको स्वास्थ्य परीक्षण,बध गरेपछि प्रशोधन,फ्रिजिङ गर्ने लगायतका सुबिधा हुनेछन् ।उहाँले भित्रका प्राविधिक उपकरण जडानका लागि अझै १०/११ लाख रुपियाँ आवश्यक पर्ने बताउनु भयो । स्थानीय मासु ब्यापारीहरूसँगको सहकार्यमा भित्रको प्राविधिक काम सक्ने र चाँडै बधशाला प्रयोगमा ल्याउने उहाँको भनाई छ । तर, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले प्रदेशको आयोजना सम्पन्न गर्न प्रदेश सरकारले बजेट नपठाउँदा बधशाला सञ्चालनमा ल्याउन नसकिएको बताउनु भयो । खरेलले भन्नुभयोे–नगरले निर्णय गरेर आफ्नै खर्चमा पनि उपकरण गर्न सक्छ । स्रोतको अभावका कारण नगरले तत्काल लगानी गर्न सक्ने अवस्था छैन ।
प्रदेशको आयोजनामा नगरले वेवास्ता गर्दा २ वर्ष अघि निर्माण सम्पन्न बधशालाका झ्याका शिसा फुट्न थालेकाछन् । ग्रील भत्किएको छ ,भने सटरमा तीनपत्र खिया लागेको छ ।
पथरीबजारमा खुला रुपमा खसी, बोका,सुँगुर,बंगुर,राँगा, भैंसी काट्ने गरिन्छ । मासु ब्यवसायीहरूका अनुसार पथरी बजारमा दैनिक सुँगुर, राँगा ३/३ वटा र खसी,बोका ६/७ वटा बध हुने गरेको छ ।

प्रकाशित मिति: २०२३-०४-१० , समय : ११:३०:२६ , १ वर्ष अगाडि