गाउँपालिका र अस्पताल स्थापना दिवसका अवसरमा विविध कार्यक्रम

enepalpatra , ४२९  पटक हेरिएको

कानेपोखरी,२७ फागुन ।मोरङको कानेपोखरी गाउँपालिकाले शनिवार पालिका स्थापनाको छैठौं वर्ष र कानेपोखरी अस्पतालको स्थापना भएको पहिलो वर्ष पुरा भएको अवसरमा विभिन्न सामाजिक एवम् राजनीतिक ब्यक्तिहरूलाई सम्मान गरेको छ ।
तत्कालिन बयरवन गाउँ पञ्चायत छँदा २०३० सालमा बयरवन स्वास्थ्य चौकी स्थापना गर्न जग्गादान गर्ने ब्यक्तिहरूलाई र कानेपोखरी अस्पतालको प्रवद्र्धनमा सहयोग गर्ने ब्यक्तिहरूलाई सम्मान गरिएको हो । २०३० मा स्वास्थ्य चौकी बनेकै स्थानमा गाउँपालिकाले गत वर्ष आजकै दिन ५ शैयाको कानेपोखरी अस्पताल स्थापना गरेको थियो ।अस्पताललाई १० कट्ठा जग्गादान दिने स्वर्गीय सनकसिंह भट्टराईका छाेरा  पुष्पेन्द्रबहादुर भट्टराई , उहाँकी बुहारी तारा भट्टराईलाई दोसल्ला ओढाएर गाउँपालिकाका अध्यक्ष राजमति इङ्नामले सम्मान गर्नुभयो ।
यसैगरी अस्पताल निर्माणमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै गाउँपालिकाका प्रथम अध्यक्ष ताराबहादुर काफ्ले,वडा नं.४ का प्रथम वडाध्यक्ष धनबहादुर राई र वडासदस्यहरू शिवप्रसाद दुलाल र रोशन लामिछाने गुरुङलाई गाउँपालिकाले सम्मान गरेको छ । सोही अवसरमा वडा नम्वर ४ का तत्कालिन वडासचिव गीता भट्टराई र कानेपोखरी अस्पतालका सुरक्षा गार्ड थिरेन्द्रबहादुर कट्वाललाई सम्मान गरिएको छ ।
कानेपोखरी ४ का वडाध्यक्ष एवम् अस्पताल विकास समितिका अध्यक्ष रमेश राउतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले कार्यक्रम माथि प्रकाश पार्दै स्वागत मन्तब्य गर्नुभयो । कार्यक्रममा राजनीतिक दलका तर्फबाट नेकपा एमालेका जिल्ला सदस्य नवीन पौडेलले शुभकामना ब्यक्त गर्नुभयो ।
 हाजिरी जवाफमा कानेपोखरी वडा नम्बर ७ पहिलो
पालिका र अस्पताल स्थापना दिवसकै अवसरमा पालिकाले सात वटै वडाका विद्यार्थीहरू बीच खुला हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम,गाउँपालिका सञ्चालन ऐन र गाउँपालिकाको बजेटमा केन्द्रीत हाजिरी जवाफ प्रतियोगितामा ७ वडाका २८ टिमको सहभागिता रहेको थियो । पहिला दुई राउण्डमा ५६ वटा प्रश्न सोधेर उत्कृष्ठ १४ वटा टिमलाई दोस्रो चरणको प्रतिस्पर्धामा सहभागि गराइएको थियो ।दोस्रो चरणमा पुन २८ वटा सोधेर उत्कृष्ठ ८ वटा टिम छनौट गरियो । फाइनल चरणमा प्रतिस्पर्धा गरेका ८ टिम मध्ये कानेपोखरी ७ बाट प्रतिनिधित्व गर्ने विश्वनाथ भट्टराई, शशाङ्क कोइराला र आँचल भट्टराईको टिम प्रथम हुँदै नगद ६० हजार रुपियाँ र प्रमाण पत्र प्राप्त ग¥यो । यस्तै सुस्मिता चौधरी,कमल आचार्य र युवराज कार्कीको टीमले दोस्रो हुँदै ४५ हजार नगद सहित प्रमाण पत्र जित्न सफल भयो । दोस्रो हुने टिम वडा नं.६ को हो ।

यस्तै वडा नं.५ बाट प्रतिनिधित्व गर्दै सहभागि भएको मौसम पोख्रेल,महिमा राजवंशी र शर्मिला थापाको टिम तेस्रो स्थान प्राप्त गर्दै ३० हजार नगद र प्रमाण पत्र जित्न सफल भयो । वडा नं.२ को रिजन फुयल,लीला सुवेदी र  विवेश थापाको टोलीले सान्त्वना स्थान प्राप्त गर्दै नगद १५ हजार र प्रमाणपत्र प्राप्त ग¥यो ।
गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा रहेको ‘मैले तिर्ने कर कानेपोखरी गाउँपालिकाको भर’ नामक कार्यक्रमलाई समूदाय स्तर सम्म पु¥याउने जनशक्ति तयार गर्नका लागि पालिकाले हाजिरी जवाफ कार्यक्रम आयोजना गरेको अध्यक्ष राजमति इङ्नामले बताउनु भयो । उहाँले भन्नुुुभयो–गाउँपालिकाले सधैं सङ्घीय सरकारसँग हात थापेर मात्र हुन्न ।पालिकालाई आत्मनिर्भर बनाउन करको दायरा फराकिलोे बनाउँदै सबैखाले ब्यवसायिसँग पालिका जोडिनु पर्छ । थोपा थोपा मिलेर नै सागर बन्ने हो । उहाँले थप्नुभयोे–सिंहदरवारको सेवा मात्रै ल्याएर हुन्न । त्यसलाई प्रवाह गर्ने आर्थिक क्षमता पनि पालिकाले राख्नुपर्छ ।’

 अस्पतालमा बिरामीको चाप बढ्यो
कानेपोखरी अस्पतालले सेवा सुचारु गरेपछि अस्पतालमा बिरामीको चाप बढेको छ । अस्पतालका प्रमुुख मेडिकल अधिकृत डा.अभिजित खड्काका अनुसार गतवर्ष फागुन २७ गते देखि असार मसान्तसम्म अस्पतालमा १४ हजार ७२४ जना विरामी उपचारका लागि पुगेका थिए । चालु आवको माघ मसान्त सम्म १८ हजार ३६८ जना विरामी अस्पताल आएर स्वास्थ्य सेवा लिइसकेका छन् । दुई जना मेडिकल अधिकृले पूर्णकालीन सेवा र एक जना रेडियोलोजिष्टले हप्तामा दुई दिन सेवा दिइरहेको अस्पतालमा हाल कुल ३२ जना स्वास्थ्यकर्मीले सेवा दिइरहनु भएको छ । चौविसघण्टा आकस्मिक सेवा र प्रसुति सेवा समेत रहेको अस्पतालमा गत वर्षमा फागुन देखि हालसम्म ३६ जनाले सुत्केरी सेवा लिइसक्नु भएको छ । एक्सरे, भिडियो एक्सरे, इसीजी लगायतका सेवा समेत दिइरहेको अस्पतालले यसैवर्ष देखि आफ्नै फार्मेसीबाट औषधि वितरण गर्ने ब्यवस्था मिलाइको छ .

पहिलो वर्ष नै १ करोड फाइदा हुने
कानेपोखरी अस्पतालले चालु आवको माघ मसान्तसम्ममा २ करोड ७० लाख ८० हजार ३८० रुपियाँ ४२ पैसा आम्दानी गरेको छ । यस्तै १ करोड ६१ लाख १ हजार ८१३ रुपियाँ २७ पैसा खर्च गरी १ करोड ९ लाख ७८ हजार ५६७ रुपियाँ १० पैसा बचत गरेको अस्पतालका अध्यक्ष एवम् वडा नंम्बर ४ का वडाध्यक्ष रमेश राउतले बताउनु भयोे । राउतका अनुसार अस्पतालले ५७ लाख रुपियाँ भिजन मेडिकोलाई भुक्तानी दिन बाँकी छ ।

 

प्रकाशित मिति: २०२३-०३-११ , समय : २१:३९:५८ , १ वर्ष अगाडि