बिबाह गर्दा वडाकाे अनुमति अनिवार्य

enepalpatra , २४२  पटक हेरिएको

काठमाडौं ,  २४ फागुन । गुराँस गाउँपालिका–८ ले विवाह गर्दा वडा कार्यालयबाट अनुमति पत्र अनिवार्य लिनु पर्ने नियम लागू गरेको छ । बाल विवाह न्यूनीकरण गर्ने उद्देश्यले वडामा विवाह गर्दा वडा कार्यालयमा पुगेर अनुमति पत्र लिनु पर्ने नियम लागू गरेको हो ।

गाउँपालिकाका वडाध्यक्ष दीपेन्द्र ओलीले फागुन १२ गते बसेको वडा समितिको बैठकले बाल विवाह न्यूनीकरण गर्ने उद्देश्यले वडा भित्र वैवाहिक कार्य गर्नु परेमा जन्म दर्ता लिएर वडा कार्यालयमा जानु पर्ने र वडाले अनुमति पत्र प्रदान गरेपछि मात्र विवाह गर्न सकिने नियम लागू गरिएको बताउनुभयो ।

उहाँले गुराँस–८ बाल विवाह निषेध वडा भएका हुँदा फागुन १२ गते निर्णय गरेको भए पनि मङ्गलबार सूचना जारी वडावासीलाई जानकारी गराइएको बताउनुभयो ।

‘‘विवाह दर्ता गर्न आउँदा वडा कार्यालयले जारी गरेको अनुमति पत्र पनि सँगै ल्याउनु पर्ने नियम बनाएका छौँ । त्यसले बालविवाह न्यूनीकरणसँगै नागरिकलाई समयमै विवाह दर्ता गर्न समेत प्रेरित गर्ने उद्देश्यले उक्त नियम लागू गरिएको हो ।’’ अध्यक्ष ओलीले भन्नुभयो ।

उहाँले विवाह गर्ने तर विवाह दर्ता नगर्ने र केटाकेटीबीच विवाद उत्पन्न भएपछि वडा कार्यालयमा चोर बाटो भएर विवाह दर्ता गर्न आउने समस्यालाई समेत यसले निराकरण गर्ने बताउनुभयो ।

बालविवाह न्यूनीकरण सम्बन्धी काम गर्ने संस्था महिला सशक्तीकरण मञ्च नेपालका अध्यक्ष सुनिता चन्दले जिल्लाका प्रत्येक वडाले यस्तो खाले नियम बनाएको खण्डमा बाल विवाह पूर्ण रूपमा अन्त्य हुने बताउनुभयो । उहाँले भन्नुभयो गुराँस–८ ले बनाएको नियमलाई पालिकाले समेत आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेर कार्यान्वयन गर्न जरुरी रहेको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दैलेखमा आर्थिक वर्ष ०७८/०७९मा सात बालविवाह मुद्दा दर्ता भएको र चालु आर्थिक वर्षको माघ मसान्त सम्म पाँच मुद्दा दर्ता भएका छन् ।

प्रकाशित मिति: २०२३-०३-०८ , समय : १२:२८:२० , १ वर्ष अगाडि