हिंसा पीडत महिलालाई पुनस्र्थापना गर्दै नगरपालिका

enepalpatra , १५९  पटक हेरिएको

हिंसा पीडित पुजा खवास नगरपालिकाबाट सिलाई मेसिन लिँदै

रङ्गेली १३ फागुन । मोरङको रङ्गेली नरपालिकाले शुक्रबार लैङ्गिक हिंसा पीडित महिलाहरूलाई पुनस्र्थापनाका लागि बीउँपुँजी वितरण गरेको छ । लैङ्गिक हिंसा निवारण कोषबाट प्राप्त ५० हजर रुपियाँमा नगरपालिकाले ३ लाख रुपियाँ थप गरी ११ जना महिलालाई पुनस्र्थापनाका लागि सहयोग गरेको हो ।
रङ्गेली –१ मोरङ की ३० वर्षीय पुजा खवासलाई श्रीमानले छोडेको १० वर्षभयो । बिहे गरेकोे एक वर्ष मात्रै उहाँले श्रीमानसँग बस्न पाउनु भयो । बुबाआमाले परम्परागत बिबाह गरेर दिएको पतिले छोडेपछि पूजाका दुखका दिन सुरु भए । त्यसपछि उहाँ माइत आएर बस्नुभयो ।
तराईमा माइतघर मै बस्ने चेलीले ब्योेहोर्ने सबैखाले दुखको अनुभव गरिसक्नु भएकी पुजा अहिले आफ्नै खुट्टामा उभिन संघर्ष गरिरहनु भएको छ । रङ्गेली नगरपालिकाले सञ्चालन गरेको सिलाई कटिङ तालिम लिएपछि उहाँले बाँच्नसक्ने आधार फेला पार्नुभयो । उहाँले भन्नुभयो–अब लुगा सिलाएर आफ्नै कमाईमा बाँच्न सक्छु भन्ने लागेको छ । पुजा मात्र होइन, लैङ्गिक हिंसा पीडित ४० वर्षीय रिंकी बानु अझ कष्टकर जीवन बिताइरहनु भएको थियो । मुस्लिम समूदायमा पतिले छोडेपछि महिलालाइ हेर्ने दृष्टिकोण नै फरक हुन्छ । अझ उहाँसँग दुईवटी छोरीलाई पढाउने र पाल्ने जिम्मेवारी पनि थियो । रिंकीलाई पतिले छोडेको १० वर्षभयो । सामान्य कस्मेटिक ब्यापार गर्दै आउनु भएकी रिंकी नगरले दिने ट्वा पुँजीबाट पसल बिस्तार गर्ने सोचिरहनु भएको छ ।
१६ वर्षको उमेरमा १० कक्षा पढ्दा पढ्दै राजवंशी जातका युवासँग प्रेम बिबाह गरेकी रङ्गेली ३ की १९ वर्षीय युवती अहिले विक्षिप्त हुनुहुन्छ । प्रेम गर्ने बेलामा जात सोधेनन, तर अहिले तल्लो जातको भर घर पस्न समेत दिएनन । उहाँले भन्नुुुभयो – एउटा छोरो पनि छ । सामाजिक अप्ठ्यारोेसँगै कानूनी अप्ठ्यारोे झेलि रहनु भएकी उहाँको न नागरिकता छ, न बिबाह दर्ता, न छोराको जन्मदर्ता ।
सामाजिक र कानूनी रुपमा अप्ठ्यारो झेलिरहेका महिलाहरूलाई समाजमा स्थापना गर्न नगरपालिकाले सहयोेग गरेको रङ्गेलीका उप मेयर भुमाकुमारी पराजुलीले बताउनुभयो । तराईमा महिला हिंसा बिरोधी अभियानलाई अझ प्रभावकारी ढङ्गले अगाडि पर्ने उहाँको भनाई छ ।

प्रकाशित मिति: २०२३-०२-२५ , समय : ११:१३:४४ , १ वर्ष अगाडि