स्पट फिक्सिङ : महबुब आलमसहित पाँच जनाविरुद्ध मुद्दा दर्ता

ईनेपालपत्र समाचारदाता , ३२९  पटक हेरिएको

बिराटनगर , ९ फागुन । राष्ट्रिय टोलीका सदस्य मोहमद आदिल अन्सारी र राष्ट्रिय टोलीका पूर्वखेलाडी महबुब आलमसहित पाँच जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

नेपाल टी–२० क्रिकेट लिगमा ‘स्पट फिक्सिङ’ गरेको भन्दै उनीहरूविरुद्ध मुद्धा दर्ता भएको हो ।

सरकारी वकिल कार्यालय काठमाडौंले सोमवार आदिल र महबुबसहित पाँच जनाविरुद्ध जिल्ला अदालत काठमाण्डौमा मुद्दा दर्ता गरेको हो ।

पाँच जनामध्ये तीन जना खेलाडी रहेका छन् । खेलाडीहरू आदिल, महबुब र नितेश गुप्ता भन्ने नितेश साहलाई तीन वर्ष कैद र पचास हजार रुपैयाँसम्म जरिबाना माग गरिएको छ । उनीहरू तीनै जनालाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरिसकेको छ ।

त्यस्तै ‘स्पट फिक्सिङ’ मा संलग्न नवीन कँडेल र रवि माफीलाई पनि उही कारबाही माग गरिएको छ । उनीहरू दुवै जना फरार छन् ।

गएको पुस ९ देखि २७ सम्म काठमाडौं भएको नेपाल टी–२० लिगमा परिणामलाई प्रभावित पार्ने गरी मिलोमतो र अनलाइन सट्टेबाजी भएको सार्वजनिक भएपछि सीआईबीले अनुसन्धान गरेको थियो ।

सीआईबीले प्रतियोगितामा ‘स्पट फिक्सिङ’ भएको निष्कर्ष निकालेको थियो ।

प्रकाशित मिति: २०२३-०२-२१ , समय : ०९:३९:१८ , १ वर्ष अगाडि