वडा स्तरीय फुटबलमा वडा नं ६ को विजयी शुरुआत

ईनेपालपत्र समाचारदाता , ४६६  पटक हेरिएको

लेटाङ, २६ पुस ।  लाफा फुटबल क्लबको आयोजनामा सोमबारबाट शुरु वडा स्तरीय फुटबल प्रतियोगिताको उदघाटन खेलमा वडा नं ४ लाई सडनडेथमा ६-५ ले पराजित गर्दै वडा नं ६ सेमिफाइनलमा प्रवेश गरेको छ ।

लाफा खेल मैदानमा वडा नं ४ र वडा नं ६ बीचको उदघाटन खेलको पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफमा वडा नं ६ का अनिल राईले गोलको खाता खोलेका थिए । वडा नं ६ ले आत्मघाती गोल गरेपछि निर्धारित समयमा खेल १-१ को बराबरी सँगै टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरमा समेत ३-३ को बराबरी भएपछि सडन डेथमा वडा नं ६ ले ५-४ को नतिजा सँगै अन्तिम ४ मा प्रवेश गरेको हो । खेल दौरान तथा टाइब्रेकरमा उत्कृष्ट बचाउ गरेका वडा नं ६ का गोलकिपर रोषन लिम्बू म्यान अफ द म्याच घोषित भए ।

यस अघि प्रतियोगिताको उदघाटन सत्रमा सम्बोधन गर्दै प्रमुख अतिथि वडा नं २ का वडाअध्यक्ष तेज प्रसाद तिम्सिनाले लाफा क्लबले विगतबाट गर्दै आएका सामाजिक तथा खेलकुद कार्यको प्रशंसा गर्दै वडा नं २ ले सदैव साथ सहयोग गर्दै आएको र भविष्यमा समेत कायम राख्ने प्रतिबद्धता जनाउनु भयो ।

आजको खेल विजेता वडा नं ६ ले अब बुधबार हुने वडा नं ९ र वडा नं २ खेलको विजेता सँग बिहीबार प्रतिस्पर्धा गर्नेछ । भोलि मंगलबार पहिलो खेलमा वडा नं ५ र वडा नं ७ तथा दोस्रो खेलमा वडा नं ३ र वडा नं ८ बीच प्रतिस्पर्धा हुनेछ ।

लेटाङ नगरपालिका र वडा नं २ को मुख्य सहयोग तथा विभिन्न संस्था तथा खेलप्रेमी महानुभावहरुको सहयोगमा जारी प्रतियोगिता माघे संक्रान्ती मेलाका अवसरमा आयोजना गरिएको हो । लेटाङ नगरपालिकाका ९ वटै वडाको सफभागिता रहने प्रतियोगिताको फाइनल माघ १ गते हुनेछ ।

प्रतियोगिता विजेता तथा उपविजेताले ट्रफी सहित क्रमश रु ३१ हजार र रु २१ हजार प्राप्त गर्नेछन् भने विधागत पुरस्कारको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

#RaazZaaw

प्रकाशित मिति: २०२३-०१-१० , समय : ०७:३१:२२ , १ वर्ष अगाडि