हराउँदै धान नाच

ईनेपालपत्र समाचारदाता , १०६  पटक हेरिएको

तेजन खड्का
उर्लाबारी २४ मंसिर । लिम्बू समुदायको धाननाच लोप हुने अवस्थामा पुगेको छ । कला र संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्न नसक्दा यो नाच लोप भएर जान लागेको हो। धान नाँच (लिम्बू) समुदायमा अत्यन्तै लोकप्रिय नाचका रूपमा रहेको छ।
। लिम्बू समुदायमा हुने विवाह, सुख–दुःखका कार्य, मेला हाट र अन्य उत्सवमा यो नाचको प्रचलन छ । धान नाच साइनो सम्बन्ध नलाग्ने युवायुवती धान नाचमा सरिक हुन्छन् । वृद्धवृद्धा पनि उत्तिकै सौहार्दतासाथ नाचमा सरिक हुन्छन् ।

यो नाच साइनो सम्बन्ध भन्दा अलग रहेर नाच्ने गीरन्छ । नाच्नु भन्दा अधि केटा र केटी पक्षबीच साइनो सम्बन्ध केलाउनुपर्छ । साइनो नभए माफी मागेर छुट्नुपर्छ । यो अत्यन्तै अनुशासनमा रहेर नाचिन्छ । नाच्ने क्रममा एकले अर्काको खुट्टा भुलवश टेक्न पुगे पनि माफी माग्नुपर्छ ।
यो नाच्ने ठाउँलाई ‘खला’ भनिन्छ । यो लिम्बू जातिको चिनारीसमेत हो ।

तर, यो नाच अहिले लोप हुने अवस्थामा पुगेको छ । पहिले प्रशस्तै नाचिने धान नाच अहिले ‘खला’ बाट विस्थापित भएर ‘भिडियो र स्टेज’मा सीमित हुनपुगेको छ ।

धान नाच्दा पालाम एक प्रकारको छन्दबद्ध गीत गाउनु अनिवार्य छ । पालाम् केटा र केटी पक्षबीच सवालजवाफको रुपमा चरण–चरण गरेर गाइन्छ । पालाम्मा सृष्टिको उत्पति, मानवसभ्यताको विकासक्रमदेखि मायाप्रीतिसम्मका कुरा हुन्छ । पालाम सवाल–जवाफको क्रममा एक–अर्काबीच मायाप्रेम बस्न गई विवाहसमेत हुने गरेका छन् । पत्रकार रुपेन्द्र शेर्मा भन्छन्, “धान नाचको क्रममा पालाम गाउँदा गाउँदै प्रेममा परेर विवाह गर्ने दम्पति थुप्रै छन् । अहिले धान नाच र पालम दुबै खलाबाट लोप भएर जानु दुखद कुरा हो ।”

धान नाचको उत्पतिबारे लिम्बू जातिको धर्मशास्त्र मुन्धुममा रमाइलो कथा उल्लेख छ । ‘फाङभङना’ नामको चराले धपाउन नपाइने सर्तमा घैया धानको बीउ ल्याएर दिएपछि मानिसहरु कृषि युगमा प्रवेश गरेको मुन्धुममा उल्लेख छ । तर, मानिसले दुःख गरेर फलाएको अन्न हुलका हुल चरा आएर खाइदिन थाले । तब मानिसहरुले नयाँ जुक्ति निकाले । पाकेको धान खलामा जम्मा गरे । एकले अर्काको हात समाएर ‘छुई हा ।।। हा ।।।’ भन्दै धान कुल्चन थाले । चराहरु पर भागे । त्यहीँ ‘यात्लाक्’ (धान कुल्चनु) बाट अप्रभंश भई ‘यात्लाङ्’ (धान नाच) हुन गएको धान नाचबारे जानकारहरु बताउछन् ।
विशेषतः हिउँदको फुर्सदिलो समयमा बढी धान नाचिन्छ । याक्थुङ (लिम्बू) समाजमा विभन्न मेला, पर्व र उत्सवहरुमा साइनो सम्बन्ध नलाग्ने केटा पक्ष र केटी पक्षबीच एकापसमा हात समाई गोलो घेरा बनाएर धान नाँच्दै पालाम् धान नाच्दा गाइने एक प्रकारको छन्दोबद्ध गीत गाउने परम्परा छ । पल्लो गाउँ, वल्लो गाउँका युवा–युवती सामूहिक रूपमा खला धान नाच्ने स्थानमा भेटेर पनि धान नाच्ने चलन रहेको किरात याक्थुम चुम्लुङ उर्लाबारीका उपाध्यक्ष अमर सेलिङले बताए। तर, अहिले धाननाच नै हराएर जान लाग्दा दुःख लागेको सेलिङ बताँउछन् । ‘अहिलेका युवायुवतीले आफ्नोपन बिर्सिँदै जानु दुःखद पक्ष हो, उनले भने।’

अघिल्लो पुस्ताबाट युवा पिढिंमा पुस्तान्तरण हुन नसक्दा धाननाच खलाबाट लोप भएर जान लागेको उर्लाबारी वडा नम्बर ९ का वडा सदस्य प्रकाश कन्दङ्वाको ठम्याई छ । विशेषतः युवा पुस्ताले आफ्नो मौलिक संस्कृतिलाई ग्रहण गर्न नसक्दा धाननाच बेलामौका चुम्लुङले आयोजना गर्ने सांस्कृतिक कार्यक्रमका स्टेज र म्युजिक भिडियोमा मात्र सीमित हुन पुगेको कन्दङ्वा बताउँछन् ।

आधुनिक प्रकारका नाचगानका प्रभाव र बढ्दो प्रतिस्पर्धी दुनियाँका कारण युवापुस्ताले धाननाच बिर्सिँदै गएको पाइएको छ । खलाबाट उठेर स्टेज र भिडियोमा सीमित हुन पुगेको धाननाचलाई पुनर्जीवन दिन याक्थुङ (लिम्बू) समुदायमा सांस्कृतिक पुनर्जागरणको अभियान चलाउन आवश्यक रहेको लिम्बु समुदायका अगुवाहरु बताँउछन् ।

धाननाच्दा केटा पक्ष र केटी पक्षले सवाल–जवाफमा चरण–चरण गरी छन्दोबद्ध गीत गाउँछन् । यहीं गीत नै पालाम् हो । धानचाचको क्रममा पालाम् गाउनु अनिवार्य मानिन्छ । सामान्यतः पालाम् ३–२–४ को मात्रिक छन्दमा बुनिएको हुन्छ । पालाम्मा हरेक दुई हरफको एक पाऊँ अर्थात् एक श्लोक हुन्छ । हरेक पाऊँको पहिलो लाइनलाई ‘फुंफेक्वा’ र दोस्रो लाइनलाई ‘काप्फुंफेक्वा’ भनिन्छ । हरेक पाऊँको ‘फुङ्फेक्वा’ र ‘काप्फुङ्फेक्वा’ को अन्त्यमा ‘हा ‘ हा ‘ मा ‘ हा ‘’ भन्ने थेगो जोडिन्छ । पालाम्मा सृष्टिको उत्पती, मानव सभ्यताको विकासक्रमदेखि लिएर मायाप्रीतिसम्मका कुरा गरिन्छ । त्यसैले पालाम् गाउँदागाउँदै एकापसमा मायाको मुना अङ्कुराउन गई बिवाहमा समेत परिणत हुन्छ । ‘धान नाच्दा नाच्दै घरजम गर्ने जोडि गाउँघरमा प्रशस्तै छन्,’ किरात याक्थुङ चुम्लुङ,उर्लाबारीकी अध्यक्ष बानु सुब्बाले भनिन्।तर, धाननाच र पालाम् नै खलाबाट हराएर जाने अवस्थामा पुगेपछि याक्थुङ लिम्बू समुदायका अगुवाहरुमा चिन्ता बढेको छ।यद्यपि, किरात याक्थुम चुम्लुङ उर्लाबारीले चासोक तङ्नाममा अतिथीहरुलाई धान नाँच नचाएको थियो।

पश्चिमा संस्कृतिको बढ्दो प्रभाव, युवा पुस्तामा मौलिक कला–संस्कृतिप्रतिको घट्दो रुचीका कारण धान नाच पनि लोप हुन लागेको छ । विभिन्न जातजातिको मौलिक कला–संस्कृतिको पुनःउत्थानका लागि राज्य र सम्बन्धित समुदायको सहकार्यमा साँस्कृतिक पुनः जागरणका काम गर्न जरुरी रहेको छ।

प्रकाशित मिति: २०२२-१२-१० , समय : १८:०८:२७ , २ महिना अगाडि