गुजरातमा विधानसभा दोस्रो चरणको निर्वाचनको लागि मतदान शुरु

इनेपालपत्र , ३२९  पटक हेरिएको

गान्धीनगर, गुजरात, १९ मङ्सिर । गुजरात विधानसभा चुनावको दोस्रो तथा अन्तिम चरणअन्तर्गत उत्तर र मध्य गुजरातका १४ जिल्लाका ९३ विधानसभा निर्वाचन क्षेत्रमा सोमबार बिहान ८ बजेदेखि मतदान सुरु भएको छ । गुजरातमा दोस्रो चरणको चुनावमा ६१ दलका ८३३ उम्मेदवार चुनावी मैदानमा छन्, जसको भाग्यको फैसला दुई करोड ५१ लाखभन्दा बढी मतदाताले गर्नेछन् । निर्वाचन आयोगले आजको मतदानका लागि २६ हजार ४ ०९ मतदान केन्द्र स्थापना गरेको छ । यहाँ मतदानका लागि करिब ३६ हजार ‘इलेक्ट्रोनिक भोटिङ मेसिन (इभीएम)’ प्रयोग गरिनेछ । निर्वाचनका लागि १४ जिल्लामा करिब २९ हजार मतदान अधिकृत र ८४ हजारभन्दा बढी मतदान अधिकृत परिचालन गरिएको छ । गुजरातका मुख्य निर्वाचन अधिकृत पी भारतीका अनुसार कुल २६ हजार ४०९ मतदान केन्द्र तोकिएको छ । भारतीले भन्नुभयो, “दोस्रो चरणमा १३ हजार ३१९ मतदान केन्द्रमा ‘वेबकास्टिङ’ हुनेछ । मतदानमा कूल दुई करोड ५१ लाख ५८ हजार ७३० मतदाता रहेका छन् । यसमध्ये एक करोड २९ लाख २६ हजार ५०१ पुरुष, एक करोड २२ लाख ३१ हजार ३३५ महिला र ८९४ तेस्रो लिङ्गी मतदाता रहेका छन् ।” दोस्रो चरणमा अहमदाबाद, गान्धीनगर, मेहसाणा, पाटन, बनासकाण्ठा, साबरकाण्ठा, अरावली, महिसागर, पञ्चमहल, दाहोद, वडोदरा, आनन्द, खेड़ा र छोटा उदयपुर जिल्लाका ९३ सिटमा मतदान हुँदैछ । गुजरातको अन्तिम चरणको मतदानमा प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह, उत्तर प्रदेशका राज्यपाल आनन्दीबेन पटेल, इसुदन गढवी, गुजरात काङ्ग्रेसका अध्यक्ष जगदीश ठाकोर, क्रिकेटर इरफान पठान, हार्दिक पाण्डेय र क्रुणाल पाण्डेयले मतदान गर्नेछन् ।

प्रकाशित मिति: २०२२-१२-०५ , समय : १३:१९:५८ , १ वर्ष अगाडि