ईनेपालपत्र , ७४३ पटक हेरिएको
रतुवामाई, २० असोज । आगामी मंसिर ४ गते हुने निर्वाचनमा मोरङको क्षेत्र नं. २ क मा गठबन्धन नगर्ने नेपाली काँग्रेसले निर्णय गरेको छ । आज बसेको काँग्रेस मोरङ क्षेत्र नं. २ क प्रदेश कार्य समिति र रतुवामाई नगर समितिको संयुक्त बैठकले गठबन्धन नगर्ने निर्णय गरेको हो ।
सो प्रदेश निर्वाचन क्षेत्रमा काँग्रेसको जनमत ६० प्रतिशत रहेको र १० प्रतिशत मात्र जनमत रहेको माओवादी केन्द्रलाई निर्वाचन क्षेत्र नसुम्पिने निर्णय गरेको हो । रतुवामाई नगर कार्यपालिकाको निर्वाचनमा माओवादीले एमालेसँग गठबन्धन गरेर काँग्रेस उम्मेद्वारलाई हराएकाले पनि गठबन्धन गर्न नहुनेमा काँग्रेसले जोड दिएको हो ।
यसअघि २०७४ सालको निर्वाचनमा बाम गठबन्धनको लहर आउँदा समेत काँग्रेस एक्लैले निर्वाचन जितेका कारण काँग्रेसबाटै उम्मेद्वार तय गर्नुपर्नेमा बैठकले जोड दिएको मोरङ क्षेत्र नं. २ क सचिव दिपेन्द्र निरौलाले जानकारी दिनुभयो ।
गठबन्धनको नाममा माओवादीबाट उम्मेद्वार तय भए एमालेबिरुद्ध जित निकाल्न कठिन रहेको काँग्रेसको ठम्याई छ । बैठकमा मोरङ २ क प्रदेश उपसभापति युवराज कट्टेल, रतुवामाई नगर सभापति पोष्टबहादुर बस्नेत, महाधिबेशन प्रतिनिधि खड्गबहादुर चोङवाङ, प्रदेश कार्यसमिति सचिव दिपेन्द्र निरौला लगायत नगर समिति, वडा समिति, क्षेत्रिय प्रतिनिधि, क्रियाशिल सदस्यहरुको बृहत उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: २०२२-१०-०६ , समय : १७:२३:१४ , ३ वर्ष अगाडि