बलात्कार आरोपित कराँते प्रशिक्षक राउत र सुवेदीविरुद्ध मुद्दा दर्ता

हाम्रो समाचारदाता , ३८१  पटक हेरिएको

बिराटनगर , ३ भदौ ।जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका कराँते प्रशिक्षक विनोद राउत र सुरज सुवेदीविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।
बिहीबार सरकारी वकिल कार्यालय मोरङले उनीहरूविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरेको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले नवपथलाई जानकारी दिए।
बुढाथोकीका अनुसार मुलुकी फौजदारी अपराध संहिता ७४ दफा २१९ अन्तर्गत सजाय माग दाबी गर्दै मुद्दा दायर गरिएको हो। दुबैलाई जबजरजस्ती करणीतर्फ सातदेखि १० वर्षसम्म सजाय माग गरिएको छ। दफा २१९ कै सामूहिक जबरजस्ती करणीतर्फ थप पाँच वर्ष सजाय माग गर्दै मुद्दा दायर गरिएको छ।
शुक्रबार र शनिबार सार्वजानिक बिदा भएकोले आइतबार बयान हुने उनले बताए। प्रहरीले लिएको बयानमा भने दुबै जनाले इन्कार गरेको बुढाथोकीको भनाइ छ।
‘दुई जनालाई प्रतिवादी बनाएर बिहीबार दिउँसो मुद्दा दायर भएको छ,’ उनले भने, ‘अब, आइतबार प्रतिवादीको बयान हुन्छ र त्यसपछि थुनछेक बहस हुन्छ। प्रहरीकोमा दुबैले इन्कारी बयान दिएका थिए। ’विराटनगर महानगरपालिका-४ का ५० वर्षीय राउत नेकपा एमाले निकट नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव हुन् भने अर्का आरोपित सोही स्थानका ५० वर्षीय सुवेदी विराट हेल्थ कलेजका अनुशासन इन्चार्ज हुन्। पीडित युवती सोही कलेजमा अध्ययनरत् इटहरी उपमहानगरपालिका-८ की १९ वर्षीया छात्रा हुन्। जिल्ला प्रहरी कार्यालय मोरङले पीडित युवतीमाथि सामूहिक र पटक-पटक करणी हुँदै आएको जनाएको छ।
अन्तिम पटक भने असार २८ गते सुवेदीले करणी गरेका थिए। पीडितमाथि जेठ महिनामा विराटनगरको मुनालपथस्थित विराट होटलमा सुवेदी र राउतले सामूहिक करणी गरेका थिए।युवतीको अश्लील भिडिओ बनाई उनीमाथि पटक-पटक करणी हुँदै आएको पीडितले दिएको जाहेरीमा उल्लेख छ। तर, अनुसन्धान प्रतिवेदनमा भिडिओ नभेटिएको भन्दै प्रहरीले सरकारी वकिल कार्यालयमा फाइल बुझाएको थियो।

प्रकाशित मिति: २०२२-०८-१९ , समय : १४:५९:५४ , ३ वर्ष अगाडि