मोरङ जिल्ला बचत संघले साकोस गोष्ठी गर्ने

enepalpatra , ७४९  पटक हेरिएको

पथरीशनिश्चरे ,१५ असार । जिल्ला बचत तथा ऋण सहकारी संस्था लि. मोरङले पथरीशनिश्चरेको सिन भिजेल पार्टी प्यालेसमा असार १८ र १९ गते दोस्रो साकोस गोष्ठीको आयोजना गर्ने भएको छ ।
बुधबार जिल्ला बचत तथा ऋण सहकारी संस्था लि.ले पत्रकार सम्मेलन गर्दै साकोसको बारेमा जानकारी गराएको हो । जिल्ला सचिव एकराज निरौलाका अनुसार दुई दिन सञ्चालन हुने गोष्ठीमा विभिन्न ५ जना विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नु हुनेछ । पहिलो दिन नेपाल सरकारका पूर्व सचिव गोपीनाथ मैनालीले ‘सहकारीको नियमन र प्रवद्र्धनमा नियमक निकायको भूमिका र सवालका क्षेत्रहरू’ विषयक कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । यस्तै नेफ्स्कुनका महासचिव दामोदर अधिकारीले ‘साकोस सञ्जालिकरण र प्रविधि’विषयक कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । कानेपोखरी गाउँपालिकाका पूर्व अध्यक्ष एवं नेफ्स्कुनका पूर्व सञ्चालक सदस्य ताराबहादुर काफ्लेले ‘सङ्घीयतामा सहकारी ः स्थानीय तहको भूमिका’विषयक कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।
यसैगरी राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीनाथ गुरागाँईले ‘जोखिम न्यूनीकरण एवं सक्ष्म सहकारी विकासको आधार’विषयक र स्नात्तकोत्तर क्याम्पस विराटनगरका प्रा.डा.अर्जुन बरालले ‘आर्थिक समृद्धिको यात्रामा नेपालको सहकारी आन्दोलन’विषयक कार्यपत्र प्रस्तुत गर्नु हुनेछ । जिल्ला संघमा आवद्ध २७१ वटा प्रारम्भिक बचत तथा ऋण सहकारी संस्था, संघमा आवद्ध नभएका बचत तथा ऋण सहकारी संस्था र अन्य उदेश्यका सहकारी संस्थाले गोष्ठीमा सहभागिता जनाउन पानेछन् । सचिव निरौलाले गोष्ठीमा हालसम्म १६० वटा सहकारी संस्थाले नाम दर्ता गरिसकेको बताउनु भयो । दर्ता हुन अझै २ दिन बाँकी छ । यो अवधिमा अरु १ सय ५० जति संस्था सहभागि हुनसक्ने उहाँले बताउनु भयो ।
कार्यक्रमको अन्तिम दिन जिल्लाका सबै पालिकाका प्रमुख उप प्रमुखलाई सम्मान गरिने छ । अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा हुने साकोस गोष्ठीको उद्घाटन नेफ्स्कुनका अध्यक्ष परितोष पौड्यालले गर्ने कार्यक्रम रहेको छ । पत्रकार सम्मेलन जिल्ला बचत संघ मोरङका उपाध्यक्ष बीना राईको अध्यक्षतामा भएको थियो ।

 

प्रकाशित मिति: २०२२-०६-२९ , समय : १९:०६:२१ , २ वर्ष अगाडि