मदनको उचाई र सम्मानको हत्या नगर्न सरकारसँग आग्रह

Enepal Patra Pvt. Ltd. , १५०१  पटक हेरिएको

विराटनगर, ४ असार । नेपाली कांग्रेसका युवा नेता एवं प्रदेश नं. १ संसदीय दलका सचेतक सुयर्माराज राईले मदन भण्डारीको राजनीतिक उचाई र सम्मानको हत्या नगर्न सरकारसँग माग गर्नु भएको छ ।
बिहीबार शुन्य समयमा भाग लिएर बोल्दै उहाँले बारम्बार मदन भण्डारीको योगदान र उचाईको हत्या नगर्न आग्रह गर्नुभयो । नेकपाको सरकार भएकै बेला मदनलाई बिबादमा ल्याउनु नहुने उहाको तर्क थियो । उहाँले आफू सानै हुँदा मदनको भौतिक शरीर बितेको सुनेको बताउँदै राईले भन्नुभयो –मदन राष्ट्रिय अन्तराष्ट्रिय महत्वका ब्यक्ति हुन्,उनलाई पटक पटक बिबादमा ल्याउने काम गर्नु राम्रो होइन । राईले मोरङको उर्लाबारीस्थित मङ्गलबारे अस्पतालको आफ्नै पहिचान रहेको उल्लेख गर्दै स्थानीयको भावना विपरित नाम नफेर्न सरकारसँग आग्रह गर्नुभयो । मदनको मृत्यु भएका बखत तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई हत्याको आरोप लगाएर तालु खुइले गिरिजा भारत तिर छिरिजा जस्ता उग्र नारा लगाएको आफूले सुनेको स्मरण गर्दै अहिले भण्डारीकै पार्टीको सरकारले उनको उचाइ र सम्मानको हत्या गर्दैगर्दा मंगलबारेवासीले कस्तो नारा लाउनुपर्ने हो भन्दै प्रश्न गर्नुभयो ।
राईले मंगलबारेवासी सडकमा निस्किएको १२ दिन भैसकेको बताउँदै मंगलबारे अस्पतालको नाम यथावत राखेर मदनको नाममा अस्पताल स्थापना गर्न सुझाव दिनुभयो । मंगलबारेमा सल्किरहेको आन्दोलनको आगोलाई “जलिरहेको रोम र निरोको बाँसुरी“ सँग प्रतिकात्मक तुलना गर्दै सरकारले स्थानीयको माग सम्बोधनमा ढिलाइ नगर्न ध्यानाकर्षण गराउनु भयो ।

प्रकाशित मिति: २०२०-०६-१८ , समय : १८:४३:५० , ४ वर्ष अगाडि