पूर्वाधार विकासका योजना धमाधम

Enepal Patra Pvt. Ltd. , ४८८  पटक हेरिएको

विराटनगर, २९ फागुन । प्रदेश सरकार गठन भएको २ वर्षमा पुर्वाधार विकास निमार्णको क्षेत्रमा पर्याप्त योजनाहरु सञ्चालनमा आएका छन् ।

प्रदेश नं। १ भौतिक पुर्वाधार तथा विकास मन्त्रालयले पछिल्लो समय प्रदेशका १४ वटै जिल्लाहरुमा बहुवर्षीय सडक, मोटरेवल पुल र झोलुङ्गे पुल, खानेपानी र सिचाईं योजना निर्माणको कामलाई तीब्रता दिएको छ ।

स्वच्छ, सुखी र समुन्नत प्रदेशको नारा लिएको प्रदेश सरकारले प्रदेशभर ६२ वटा बहुवर्षीय सडक, ८७ वटा मुख्यमन्त्री ग्रामीण सडक र १ सय ८२ वटा साना सडकहरु निर्माण गरिरहेको पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रेवतीरमण पराजुलीले जानकारी दिनुभयो । जसमा ७ सय ८४ दशमलव ५३ किलोमिटरको ५२ वटा बहुवर्षीय सडक कालोपत्रे गर्ने र १ सय ७६ दशमलव १४ किलोमिटरको १० वटा ग्राभेल सडक विस्तार हुनेछ ।

सडक कालोपत्रे गर्न चालु आर्थिक वर्षमा ३ अर्ब ८३ करोड ५८ लाख रुपैयाँ बिनियोजन भएको छ । जसबाट २९ किलोमिटर सडक कालोपत्रे भई १ अर्ब ८६ करोड ९७ लाख ८३ हजार ७ सय १० रुपैयाँ खर्च भईसकेको पराजुलीले जानकारी दिनुभयो । ५२ वटा बहुवर्षीय सडक र ६५ वटा मुख्यमन्त्री ग्रामीण सडक योजनाको सम्झौतासमेत भईसकेको उहाँको भनाइ छ ।

प्रदेशका १४ वटै जिल्लामा निर्माण हुने १ सय ३४ वटा मोटोरेवल पुलमा ९१ वटा मोटोरेवल पुल निर्माणाधिन छ भने १३ वटाको सम्झौता भएको मन्त्रालयले जनाएको छ । यसको लागि चालु आर्थिक वर्षमा विनियोजन भएको ५ अर्ब ४४ करोड ११ लाख ९४ हजार रुपैयाँ बजेटमा १ अर्ब ३८ करोड ५७ लाख खर्च भईसकेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

त्यसैगरी प्रदेशको विभिन्न ठाउँमा निर्माण हुने भनिएको १ सय १४ वटा झोलुङ्गे पुलहरुमा १ सय ८ पुल निर्माणधिन अवस्थामा रहेको मन्त्रालयले जनाएको छ । झोलुङ्गे पुल निर्माणका लागि कुल २७ करोड १५ लाख ७ हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।

प्रदेश सरकारले अघि बढाएको मुख्यमन्त्री ग्रामीण सडक योजना अन्तर्गत ८७ वटा ग्रामीण सडकहरु निर्माणको चरणमा रहेका छन् । ती सडकहरुलाई पूर्णता प्रदान गर्न चालु आर्थिक वर्षमा ७१ करोड २६ लाख रुपैयाँ बिनियोजन भएकोमा ४६ लाख ३८ हजार ५ सय ४० रुपैयाँ खर्च भएको छ ।

मन्त्रालयले प्रदेशका १४ वटै जिल्लाहरुमा खानेपानी तथा सरसफाई, जलस्रोत तथा सिँचाई, उर्जा, नयाँ शहर आयोजना र यातायात पुर्वाधारलगायतका क्षेत्रहरुमा समेत काम अगाडि बढाएको भौतिक पुर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङले बताउनुभयो । प्रदेश सरकारको कुल बजेटको ४७ प्रतिशत बजेट मन्त्रालयमै छ ।

पुर्वाधार विकासतर्फ हालसम्म १४ अर्ब ६३ करोड १२ लाख ३२ हजार रुपैयाँ बराबरको बजेट खर्च भईसकेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: २०२०-०३-१२ , समय : ०८:२९:२२ , ४ वर्ष अगाडि