ईनेपालपत्र संबाददाता , ७ पटक हेरिएको
रौतहट, १४ कात्तिक। भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले अवैध हतियार तस्करी तथा आपूर्ति सञ्जालसँग सम्बन्धित प्रकरणमा बिहारको वैशाली जिल्लास्थित हाजीपुरबाट एकजना वकिललाई पक्राउ गरेको छ। एके–४७ जस्ता अत्याधुनिक हतियारको खरिद, बिक्री तथा आपूर्तिसँग जोडिएको अनुसन्धानका क्रममा एनआईएले मध्यरातमा विशेष अपरेसन सञ्चालन गरी उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा हाजीपुर नगरथाना क्षेत्रको एसडीओ रोड निवासी सन्दीप कुमार सिंह उर्फ छोटू लाल रहेका छन्। उनी पटना उच्च अदालतमा वकालत गर्दै आएको बताइएको छ। उनको पक्राउबारे नगर थाना प्रमुखले समेत पुष्टि गरेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार एनआईएको टोलीले राति करिब १ बजे जौहरी बजारस्थित मुख्य सडकमा घेराबन्दी गरी उनलाई पक्राउ गरेको थियो। उनी क्षेत्र छाड्नका लागि व्यवस्था गरिएको भनिएको सवारीसाधनको प्रतीक्षामा रहेको अवस्थामा पक्राउ परेका हुन्। घटनास्थलबाट एउटा कारसमेत नियन्त्रणमा लिइएको छ। उक्त कार पछि स्थानीय नगर प्रहरीलाई बुझाइएको बताइएको छ।
यसअघि पनि एनआईएको निगरानीमा
अवैध हतियारको खरिद, बिक्री तथा आपूर्ति सञ्जालबारे अनुसन्धान गरिरहेको एनआईएको निगरानीमा सन्दीप यसअघि पनि परेका थिए। यसअघि एसडीओ रोडस्थित उनको निवासमा छापा मार्ने क्रममा एनआईएको टोलीले अवैध ९ एमएमको पेस्तोल बरामद गरेको बताइएको छ।
सोही घटनापछि उनको गतिविधिमाथि निगरानी बढाइएको र अनुसन्धानलाई अगाडि बढाउने क्रममा पछिल्लो गिरफ्तारी गरिएको स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
हतियार आपूर्ति सञ्जालको कनेक्सन खोज्दै एनआईए
एनआईएले एके–४७ लगायतका अवैध तथा अत्याधुनिक हतियारको स्रोत, खरिद, बिक्री र आपूर्तिमा संलग्न व्यक्तिहरूको पहिचान गर्ने उद्देश्यले अनुसन्धान गरिरहेको छ।
पक्राउ परेका वकिललाई हिरासतमा राखेर सोधपुछ सुरु गरिएको छ। अनुसन्धानकर्ताहरूले हतियार कहाँबाट ल्याइन्थ्यो, कसलाई आपूर्ति गरिन्थ्यो र यसमा अन्य को–को संलग्न छन् भन्ने विषयमा जानकारी जुटाउने प्रयास गरिरहेका छन्।
पक्राउको खबर सार्वजनिक भएपछि हाजीपुरमा स्थानीय बासिन्दाबीच चर्चा बढेको छ। घटनास्थलमा सर्वसाधारणको भीडसमेत लागेको बताइएको छ।
एनआईएको अनुसन्धान जारी रहेकाले हतियार तस्करी सञ्जालमा थप व्यक्तिहरूको संलग्नता खुलेर आउने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २०२६-१०-३१ , समय : १३:४१:१० , ३ घन्टा अगाडि