ईनेपालपत्र संबाददाता , ५ पटक हेरिएको
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले पार्टीको अधिवेशन र महाधिवेशनको कार्यतालिका स्थगन गरेर वार्ता र संवादमार्फत सहमतिमा पुग्ने वा अदालतको निर्णयको प्रतीक्षा नगरी एकलौटी रुपमा अगाडि बढ्ने विषय उचित मान्न नसकिने बताएका छन् ।
इतर समूहको १५औँ महाधिवेशन तयारी समितिका संयोजक कोइरालाले सोमबार पत्रकार सम्मेलन गर्दै भने, ‘पार्टीको आधिकारिकतासम्बन्धी विषय सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा पार्टीको अधिवेशन र महाधिवेशनको एकतर्फी रूपमा घोषणा गरिएको कार्यतालिका स्थगन गरेर वार्ता र संवादमार्फत सहमतिमा पुग्ने वा सम्मानीत सर्वोच्च अदालतको निर्णयको प्रतीक्षा नगरी एकलौटी रुपमा अगाडि बढ्नु कुनै पनि हालतमा उचित मान्न सकिन्न ।’
उनले पार्टीको मूल मर्म, लोकतान्त्रिक मूल्य–मान्यता र राष्ट्रिय दायित्वलाई केन्द्रमा राख्दै आफूहरूले सुरुदेखि नै सहमति, सहकार्य र एकताको आधारमा १५औँ महाधिवेशन सम्पन्न गर्न निरन्तर प्रयास गरेको दाबी गरे ।
‘पार्टीलाई विभाजनको दिशातर्फ धकेल्ने कुनै पनि कदमबाट बच्न, संवाद र सहमतिमार्फत समाधान खोज्न तथा संगठनको आन्तरिक जीवनमा आँच नपुग्ने वातावरण निर्माण गर्न बारम्बार आग्रह गरियो । तर दुर्भाग्यवश ती प्रयासहरूलाई सकारात्मक रूपमा ग्रहण गरिएन,’ उनले भने ।
कोइरालाले निश्चित सर्तहरू स्वीकार गरेमात्र पद व्यवस्थापन गरिने वा राजनीतिक सहमतिको सट्टा पद बाँडफाँडलाई समाधानको आधार बनाइने दृष्टिकोणले कांग्रेसको गौरवशाली इतिहास र लोकतान्त्रिक संस्कारलाई कमजोर बनाउने बताए । नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन नसक्ने कोइरालाको भनाइ छ ।
उनले विशेष महाधिवेशनको नाममा पार्टीभित्र थप विवाद सिर्जना नगर्न, लोकतान्त्रिक प्रक्रियालाई कमजोर नबनाउन र संगठनात्मक एकतालाई क्षति नपुर्याउन आफूहरूले आग्रह गरेको स्मरण गराउँदै विशेष महाधिवेशन पक्षधरले सो आग्रहलाई बेवास्ता गरेको बताए ।
कोइरालाले कथित विशेष महाधिवेशनबाट निर्मित नेतृत्वले गर्ने अधिवेशन र महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउनेभन्दा विभाजनलाई संस्थागत गर्न उद्दत भएको भन्दै पार्टीको भविष्यलाई केन्द्रमा राखेर कानुनी र राजनीतिक दुवै पक्षको सम्मान हुने गरी समाधान खोज्नु आजको आवश्यकता भएको उल्लेख गरे ।
उनले विद्यमान अवस्थामा सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई भ्रम र गैरजिम्मेवार राजनीतिक प्रचारबाट प्रभावित नहुन अपिल गर्दै असुोज ३ गतेवाट विधि प्रक्रिया मिचेर सुरु गर्ने भनिएको अधिवेशन/महाधिवेशनमा भाग नलिन आग्रह गरे ।
प्रकाशित मिति: २०२६-०९-१४ , समय : १७:१८:५२ , २ घन्टा अगाडि