ईनेपालपत्र संबाददाता , ८ पटक हेरिएको
लेटाङ, १६ भदौ । रसुवामा आएको बाढीपछि लेटाङका मेघा चेम्जोङ र सोना चेम्जोङसहित एउटै परिवारका चार जना बेपत्ता भएपछि उनीहरूको खोजी र अवस्थाबारे जानकारी लिन लेटाङ नगरपालिकाका पूर्वनगरप्रमुख शंकर राई सक्रिय हुनुभएको छ। बेपत्ता परिवारका सदस्य राजकुमार चेम्जोङसहित काठमाडौं पुगेर पूर्वनगरप्रमुख राईले शिक्षण अस्पतालमा डीएनए परीक्षणलगायतका विषयमा सम्बन्धित पक्षसँग परामर्श गर्नुभएको छ।
बाढीपछि बेपत्ता भएका मेघा र सोना चेम्जोङसहित परिवारका चार जनाको खोजी कार्य भइरहेको छ। खोजी कार्य सम्पन्न भएपछि आवश्यक परे परिवारका सदस्यबाट डीएनएको नमुना संकलन गरी परीक्षण गर्ने र त्यसपछि मात्रै घटनाबारे यकिन निष्कर्षमा पुग्न सकिने जानकारी आफूले पाएको राईले बताउनुभयो।
बेपत्ता परिवारको अवस्थाबारे जानकारी लिन तथा आवश्यक परामर्शका लागि काठमाडौंस्थित शिक्षण अस्पतालमा समेत पुगिएको उहाँले जानकारी दिनुभयो। पीडित परिवारलाई आवश्यक सहयोग र समन्वयका लागि आफूले निरन्तर पहल गरिरहेको राईको भनाइ छ।
पूर्वनगरप्रमुख राईले आगामी केही दिन काठमाडौं तथा रसुवा क्षेत्रमै रहेर बेपत्ता नागरिकको खोजी तथा पीडित परिवारका लागि आवश्यक समन्वयमा सक्रिय रहने बताउनुभएको छ। उहाँले प्राकृतिक विपत्तिमा परेका परिवारलाई सबैले आ आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नसमेत आह्वान गर्नुभएको छ।
रसुवाको बाढी तथा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका सबै नागरिकप्रति राईले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता मेघा, सोना चेम्जोङसहित सबैको खोजी कार्य प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ।
प्रकाशित मिति: २०२६-०९-०१ , समय : १०:४४:४३ , १ घन्टा अगाडि