मेयर बनाउँछु भनेर ढाँट्नुभयो, मलाई प्रयोग मात्र गरियो’

निरोज ढकाल , १५  पटक हेरिएको

 

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङका निकट सहयोगी मानिएका निनाचन्द्र राईले पार्टी परित्याग गरेका छन्। धरानमा आयोजित पत्रकार सम्मेलनमार्फत राईले आजदेखि श्रम संस्कृति पार्टी र हर्क साम्पाङसँग आफ्नो कुनै सम्बन्ध नरहेको घोषणा गरेका हुन्।

 

राईले आफूलाई धरानको भावी मेयर उम्मेदवार बनाउने आश्वासन दिएर पार्टीमा भित्र्याइएको तर पछि वाचा विपरीत अर्कै व्यक्तिलाई अघि सारिएको आरोप लगाएका छन्। उनले हर्क साम्पाङले आफूलाई पटक–पटक मेयर उम्मेदवारका रूपमा आश्वस्त पारेको दाबी गरे।

 

‘उहाँले मलाई नै मेयरको उम्मेदवार तपाईं नै हो, कन्फर्म हो भन्नुभएको थियो। मैले त्यसैको विश्वासमा पार्टीमा प्रवेश गरेको थिएँ। अहिले आएर अर्कैलाई अघि सार्नुभयो,’ राईले बताएका छन्।

 

उनका अनुसार आफू मात्रै होइन, १०० भन्दा बढी कार्यकर्ताले पनि श्रम संस्कृति पार्टी छाडेका छन्। यद्यपि उक्त दाबीको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।

 

हर्क साम्पाङलाई स्वतन्त्र उम्मेदवारका रूपमा धरानको मेयर बनाउन सक्रिय भूमिका खेलेका राई पार्टी गठनपछि केही समय स्वतन्त्र राजनीतिक अभियानमै थिए। गत वैशाखमा उनी औपचारिक रूपमा श्रम संस्कृति पार्टीमा प्रवेश गरेका थिए।

 

तर पछिल्लो समय हर्क साम्पाङले धरानको भावी मेयर उम्मेदवारका रूपमा धनबहादुर राईको नाम सार्वजनिक गरेपछि असन्तुष्टि चुलिएको बताइएको छ। धनबहादुर राई २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए।

 

निनाचन्द्र राईले पार्टी प्रवेश गराउँदा आफूलाई मेयर बनाउने स्पष्ट प्रतिबद्धता गरिएको दाबी गर्दै अहिले आफूलाई धोका दिइएको महसुस भएको बताएका छन्।

 

उनको बहिर्गमनसँगै श्रम संस्कृति पार्टीभित्र आन्तरिक विवाद र नेतृत्वको निर्णय प्रक्रियामाथि प्रश्न उठ्न थालेका छन्। यता हर्क साम्पाङ वा श्रम संस्कृति पार्टीको नेतृत्वले भने निनाचन्द्रको आरोपबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।

प्रकाशित मिति: २०२६-०६-०३ , समय : १४:३७:३३ , २ घन्टा अगाडि