लेटाङ नगरपालिकाको SEE नतिजा उत्साहजनक : ९३.३६ प्रतिशत विद्यार्थी ग्रेडेड

निरोज ढकाल , ३६  पटक हेरिएको

 

लेटाङ, २९ बैशाख । मोरङको लेटाङ नगरपालिकाले सार्वजनिक गरेको २०८२ सालको माध्यमिक शिक्षा परीक्षा ९एसईई० नतिजाले नगरको शैक्षिक अवस्था उत्साहजनक देखिएको छ। नगरभित्रका २१ वटा विद्यालयबाट सहभागी कुल ६७८ जना विद्यार्थीमध्ये ६३३ जना उत्तीर्ण भएका छन् भने समग्र उत्तीर्ण प्रतिशत ९३.३६ पुगेको छ। नतिजाअनुसार ६० जना विद्यार्थीले ३.६ देखि ४.० सम्मको उत्कृष्ट जीपीए हासिल गरेका छन् भने १९२ जना विद्यार्थीले ३.२ देखि ३.६ जीपीए ल्याउन सफल भएका छन्।

 

यस वर्ष शान्ति भगवती मा.वि. को कम्प्युटर इन्जिनियरिङ धारका एक विद्यार्थीले ३.९६ जीपीए ल्याउँदै नगरकै सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। विद्यालयको प्राविधिक धारतर्फ सहभागी ४६ जनामध्ये २७ जनाले ३.६ भन्दा माथिको जीपीए ल्याउनु प्राविधिक शिक्षाको गुणस्तर उच्च रहेको संकेत मानिएको छ। यस्तै संस्थागत विद्यालयतर्फ लिटल फ्लावर बोर्डिङ स्कुल, नोवेल एजुकेशन तथा लेटाङ आवशियले शतप्रतिशत नतिजा ल्याउँदै उत्कृष्ट प्रदर्शन गरेका छन्।

यद्यपि, नगरपालिकाभर अझै ४५ जना विद्यार्थी ‘नन–ग्रेड’ (एनजी) श्रेणीमा परेकाले

 

उनीहरूको शैक्षिक सुधारका लागि थप योजना आवश्यक देखिएको छ। अधिकांश विद्यार्थी २.८ देखि ३.६ जीपीएको मध्यम तथा उच्च श्रेणीमा समेटिनुले सामुदायिक र संस्थागत दुवै विद्यालयको शैक्षिक लगानी सकारात्मक दिशातर्फ अघि बढिरहेको संकेत गरेको छ। विशेषगरी प्राविधिक तथा व्यावसायिक शिक्षामा देखिएको उपलब्धिले भविष्यमा दक्ष जनशक्ति उत्पादनमा लेटाङ नगरपालिका सक्षम बन्दै गएको बिश्वास गर्न सकिन्छ ।

प्रकाशित मिति: २०२६-०५-१२ , समय : १४:५३:१९ , २२ घन्टा अगाडि