निरोज ढकाल , ४४ पटक हेरिएको
नेपालगञ्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता **बालेन शाह**को आगमनका क्रममा समर्थकहरू सवार गाडीबाट खस्दा ४–५ जना घाइते भएका छन्। आइतबार बाँकेको नेपालगञ्जस्थित राँझा विमानस्थल नजिकैको सडकमा यो घटना भएको हो। बालेन चुनावी प्रचारका लागि नेपालगञ्ज पुगेपछि उनलाई स्वागत गर्न ठूलो संख्यामा पार्टी कार्यकर्ता र समर्थकहरू विमानस्थल पुगेका थिए।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार समर्थकहरू चढेको गाडीको पछाडिको ढालाबाट केही व्यक्ति खसेका हुन्। विमानस्थल परिसरभित्रको सडक भएकाले गाडी तीव्र गतिमा नरहेको र दुर्घटनामा परेकाहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइतेहरूलाई प्राथमिक उपचार गरिएको र थप जटिल समस्या नदेखिएको जानकारी दिइएको छ।
बालेन २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवारसमेत बनेका छन्। उनी हाल पश्चिमाञ्चल क्षेत्रका विभिन्न जिल्लामा चुनावी प्रचारमा सक्रिय छन्। झापाबाट उम्मेदवारी दर्ता गरेपछि पूर्वी पहाडी जिल्लाहरू हुँदै काठमाडौं फर्किएका बालेन त्यसपछि पश्चिमतर्फको चुनावी दौडमा निस्किएका हुन्।
प्रहरीले चुनावी कार्यक्रमका क्रममा भीड व्यवस्थापन र सवारी साधनमा सुरक्षाका उपायहरू अपनाउन आग्रह गरेको छ। समर्थकको उत्साहका बीच सावधानी नअपनाउँदा यस्ता दुर्घटना हुनसक्ने भन्दै आगामी कार्यक्रमहरूमा थप सतर्कता आवश्यक रहेको जनाएको छ।
प्रकाशित मिति: २०२६-०१-२६ , समय : १६:५१:१७ , ५ घन्टा अगाडि